६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


युवाविहीन बैतडीका गाउँघर, मलामी पाउन मुस्किल


0
Shares

गाउँमा कोही मान्छेको मृत्यु भएपनि मलामी जानसमेत युवा नपाइने गरेको सुर्नया गाउँपालिकाका शिक्षक गणेशदत्त अवस्थीले बताए ।

‘गाउँहरु युवाविहीन हुँदा मलामी जानसमेत युवा पाइँदैनन्’–उनले भने ।

हिउँद लागेसँगै युवाहरु मजदुरी गर्न सीमावर्ती भारत पसेपछि गाउँहरु युवाविहीन भएका हुन् । गाउँमा महिला र वृद्धवृद्धामात्रै रहेको दोगडाकेदार गाउँपालिका–३ का हेमराज गिरीले बताए ।

उनले भने–‘युवाहरु रोजगारीका लागि भारत गएपछि विकास–निर्माणका कामहरुमासमेत सुस्तता आउने गरेको छ ।’

गाउँमा हुने विकास–निर्माणमात्रै नभएर अरु सामाजिक कामका लागि युवा नहुँदा समस्या हुने गरेको छ । परिवार पाल्नकै लागि भनेर यहाँका अधिकांश युवा भारत जाने गरेका छन् ।

प्रदेश नम्बर–७ का पहाडी जिल्लाका नागरिक रोजगारीका लागि बैतडीको झुलाघाट नाका हुँदै भारत पस्न थालेका हुन् ।

गहुँबाली छरेर हिउँदमा रोजगारीका लागि भारतका विभिन्न सहर पुग्ने गरेको बझाङको बित्थडचीर गाउँपालिका–४ का धनबहादुर बोहराले बताए ।

‘परिवार पाल्नका लागि गाउँघरमा कुनै स्रोत नभएपछि बाध्य भएर भारत जानुपरिरहेको छ’–उनले भने ।

प्रदेश नम्बर–७ का बैतडी, बझाङ, डडेल्धुरा, डोटी, अछाम र बाजुराका स्थानीय नागरिक रोजगारीको खोजीमा झुलाघाट नाकाबाट अहिले दैनिक सयौंको संख्यामा भारत पस्ने गरेको सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज चक्रदेव पाण्डेयले बताए ।

‘दैनिक करिब ३०० नेपाली नागरिक भारत जाने गरेका छन्’–उनले भने–‘विद्यार्थी उमेरदेखि ६० वर्षमाथिका नागरिकसमेत रोजगारीका लागि भारत जाँदैछन् ।’

भारतमा रोजगारी गर्दा विभिन्न जोखिम भएपनि परिवार पाल्न भारत जानुपर्ने बाध्यता रहेको बझाङका ६५ वर्षीय गम्भीरे बोहराले बताए ।

भारतमा रोजगारी गर्दा विभिन्न समस्या झेल्नुपरे पनि गाउँमा रोजगारीका कुनै सम्भावना नहुँदा भारत जानुपर्ने आफूहरुको नियति बनेको बझाङका नरेन्द्रबहादुर बोहराले बताए ।

यहाँका नागरिक प्रत्येक हिउँदमा मजदुरीका लागि भारत जाने र नयाँवर्षका लागि घर फर्कने गरेका छन् ।