
-विवेक भण्डारी/ईमेज
नवलपुर । हरेक क्षेत्रमा आधुनिकताका नाममा विदेशी संस्कार, संस्कृति भित्रिइरहेको छ । जसबाट नेपाली कला संस्कृति पनि अछूतो रहन सकेको छैन ।
कुनै बेला खुबै रुचाइने नेपाली मौलिक परम्परागत बाजाहरु क्रमशः हराउने दिशामा अघि बढिरहेका छन् ।
मौलिक बाजाको कम प्रचलन र प्रयोगले त्यसका पारखीहरुलाई भने पिरोल्न थालेको छ ।
केही वर्षपहिले जहाँतहीँ बज्ने नेपाली बाजाहरु अहिले विरलै सुनिन्छन् ।
नेपाली मौलिक बाजालाई विदेशी बाजाको प्रभावले विस्तारै विस्तारै ओझेलमा पार्न थालेको छ ।
नेपाली लोकभाकामा अत्याधिक बज्ने मादल अहिले आधुनिक बाजा भित्रिएसँगै संकटमा पर्दैछ ।
यसले हाम्रो पहिचान र मौलिकपनालाई ओझलमा त पारेको छ नै सँगसँगै यी बाजा बजाउने र बनाउनेहरुको जीविकोपार्जनमा समेत समस्या पर्न थालेको छ ।
पुर्खादेखि नै मादल बनाउने पेशामा संलग्न नवलपुर कावासोतीका रामप्रसाद नेपालीलाई अहिले यो पेशाबाट मात्र गुजारा चलाउन समस्या भएको छ ।
१७ वर्ष अघिसम्म मादलको राम्रै व्यापार भएपनि अहिले यो पेशाले जिउन समस्या परेको छ ।
मादलका अलाबा नेपालीको अर्को मुख्य बाजा सारङको पनि अवस्था अहिले उस्तै छ ।
१२ बर्षको उमेर देखि सारङगी बजाउने पेशा कै रुपमा लिएका शेरबहादुर गन्दर्भलाई अहिलेको अवस्थाले निकै विरक्त बनाएको छ । शेरबहादुरले सारंगीलाई धेरैले महत्व दिन छाडेको बताउँछन् ।
अरुका त के कुरा गन्दर्भ समुदायले पनि यसप्रति बेवास्ता गर्दा यो बाजा लोप हुने हो कि ? भन्ने चिन्ता लाग्न लागेको उनको भनाइ छ ।
बदलिँदो समयसँगै आधुनिक संस्कृतिका सकारात्मक पक्षको अनुकरण गर्ने कुरा जायज हो तर आफ्नो चिनारी र पहिचान मासेर अर्काको संस्कृतिलाई मात्रै रोज्नु भनेको चाँहि आफ्नोपना नबुझ्नु र आप्mनो परिचय गुमाउनु हो ।
प्रतिक्रिया दिनुहोस्