Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


निजामती सेवामा बढ्दो लोकप्रियता, १० वर्षमा पाँच गुणा बढीको दर्खास्त


0
Shares

निजामतीका आकर्षण बढ्दै गएपछि लोकसेवा आयोगमा दर्खास्त दिनेको संख्या पनि वर्षेनी बढेको छ ।

१० वर्षको अवधिमा आयोगमा दर्खास्त दिनेको संख्या पाँच गुणा बढेको पाइएको छ । आयोगका उपसचिव देवीप्रसाद सुवेदीले आर्थिक वर्ष २०६४/६५ देखि आव २०७३/७४ सम्म आयोगमा दर्खास्त दिने आवेदनको संख्या पाँच गुणा बढेको बताए । यो संख्या निजामतीतर्फको स्वास्थ्यसहितको रहेको छ ।

उनका अनुसार २०६४/६५ मा कूल एक लाख ७५ हजार १२१ जनाले आवेदन दिएकामा गत आव २०७३/७४ मा आठ लाख ४४ हजार २९७ संख्या पुगको छ । आव २०७२/७३ भन्दा गत आवमा दुई लाख ४९ हजार २६६ जनाले बढीले दर्खास्त आवेदन दिएका थिए । आव २०७२/७३ मा पाँच लाख ९५ हजार ३१ जनाले दर्खास्त आवेदन दिएका छन् ।

निजामती सेवाको लोकप्रियता देखेर अहिले दर्खास्त दिनेको संख्या बढेको उनले बताए । आव २०६५/६६ मा ८६ हजार १८६, आव २०६६/६७ मा तीन लाख ४६३, आव २०६७/६८ मा दुई लाख ५१ हजार ६५१ र आव २०६८/६९ मा दुई लाख ७१ हजार ५७७ जनाले दर्खास्त आवेदन दिएको पाइएको छ ।

यसैगरी, आव २०६९/७० मा तीन लाख ६८ हजार ८०५, आव २०७०/७१ मा पाँच लाख ६० हजार ९१५ र आव २०७१÷७२ मा पाँच लाख ९९ हजार ६६८ दर्खास्त आवेदन दिएका थिए ।

पूर्वप्रशासक विमल कोइरालाले अन्य ठाउँमा रोजगारको अवसर नहुँदा बाध्य भएर निजामती सेवामा प्रवेश गर्नको संख्या वर्षेनी वृद्धि भएको बताए ।

‘रोजगारीको सम्भावना कतै छैन । अनि आफ्नो कोही नभएकाले जाने एकमात्र ठाउँ नै लोक सेवा आयोग हा’, उनले भने, ‘परीक्षा स्वच्छ हुन्छ भनेर नै धेरैले त्यहाँको परीक्षामा सामेल हुन थालेका छन् ।’ पूर्वप्रशासक कोइरालाले संख्यात्मक हिसाबले बढे पनि गुणस्तर भने नबढेको बताए । रासस