प्रदेश नम्बर-७ को राजधानी डडेल्धुरा राख्न कति सम्भव ? • Image Khabar Image Khabar


प्रदेश नम्बर-७ को राजधानी डडेल्धुरा राख्न कति सम्भव ?


Imagekhabar
५ पुष २०७४, बुधबार १२:५९

प्रदेश नम्बर-७ को राजधानी डडेल्धुरा राख्न कति सम्भव ?

प्रदेशसभाको बैठकस्थल, प्रदेश प्रमुख र मुख्य मन्त्रीको कार्यालय रहने ठाउँका बारेमा पनि विभिन्न प्रदेशमा बहस भइरहेका छन् ।

कतिपय प्रदेशमा सम्भावित राजधानी भन्दै बैठकस्थल निर्माणको प्रक्रिया पनि शुरु भइसकेको छ । तर, प्रदेश नम्बर ७ को पहाडी जिल्ला डडेल्धुरामा राजधानी स्थापना गर्न संघर्षका कार्यक्रम तय गरिएका छन् ।

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको २० दिनभित्रै प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था रहे पनि सरकारले अहिलेसम्म प्रदेशको राजधानी तोक्न सकेको छैन ।

प्रदेश नम्बर ७ को सम्भावित राजधानीका रुपमा कैलाली र डोटीलाई लिइएको छ । तर यहाँ अहिलेसम्म प्रदेशसभा बैठकस्थल, प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय रहने स्थानसमेत तोकिएको छैन ।

प्रदेश नं. ७ का लागि पहाडमा राजधानी स्थापना गर्न डडेल्धुरामा संघर्षका कार्यक्रम समेत तय गरिएका छन् ।

संघीय संरचनाको कार्यान्वयनका लागि निर्वाचन पछि सुरु भएको बहससँगै सुदूरपश्चिम अथवा प्रदेश नं ७ को समानुपातिक विकास र सामाजिक न्यायका लागि भन्दै पहाडी क्षेत्रको उपयुक्त स्थानमा राजधानी कायम गर्न सरकारलाई दबाब दिने उद्देश्यले पहाडी सात जिल्लाको तर्फबाट डडेल्धुराबाट पहल गरिने भएको छ ।

पहाडी जिल्लामा विकासको गति बढाउन, प्राकृतिक श्रोतसाधनको सदुपयोग र सिंहदरबारको अधिकार गाउँसम्म पुगाउन प्रसासनिक सुबिधाका लागि पनि पहाडमा राजधानी हुनु पर्ने तर्क सहित एक हप्ते संघर्ष कार्यक्रम तय गरिएको संघर्ष समितिका संयोजक प्रकाश बहादुर साउंदले जानकारी दिए ।

सरकार, सम्बन्धित राजनीतिक दल र नेतृत्वले सुदूरपश्चिमका जनताको आवाजहरुलाई वेवास्ता गरे यहि पौष ८ गते सुदूरपश्चिम भरी आमहड्ताल गर्ने समेत निर्णय गरिएको सघर्ष समितिका सदस्य गुणाकर चटौतले जानकारी दिए ।

दबाब कार्यक्रममा बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुरालगायत तराईका जिल्लाहरुको समेत समर्थन जुटाउने कसरतमा यहाँका बासिन्दा छन् ।

सम्भावित प्रदेश राजधानी कैलालीमा भन्दै सुरु गरिएको काम पछिल्लो समयमा रोकिंदा झन् अन्योल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्