१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए


0
Shares

नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् ।

भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनकारुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।

टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाकारुपमा पैसा, धोती, चोलीलगायतका सामग्री दिएर टीका थाप्ने गरिन्छ ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भइ प्रत्येक घर–घर तथा गाउँ–बस्तीमा पुगेर भैलो खेल्ने प्रचलन छ ।

आजको दिनमा महिला पनि सार्वजानिकस्थलमा भेला भएर चुट्किला–देउडा खेलेर रमाइलो गर्ने र एक–अर्काको पीर–व्यथा साटासाट गर्ने गरिन्छ ।

भाइतिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने त्रिपुरासुन्दरी–१ का स्थानीयवासी रविप्रसाद न्यौपानेले बताए ।

यो भैलो तिहारको देउसीभन्दा फरक ढंगबाट र फरक लयमा खेलिने उनले बताए ।

भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएका सबैजना मिलेर पाठी भात (स्थानीय भाषामा) खाने प्रचलन रहेकोसमेत उनले बताए ।

छोरा तिहारमा आमा नहुनेले भने स्थानीय मन्दिरमा गएर पुजारीको हातबाट टीका–अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् । रासस