आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत् दुईजना कर्मचारीको जलेर मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
आगलागी भएसँगै त्यहाँ पुगेको वीरगन्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुवैजना कर्मचारीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेका छन् ।
बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले राससलाई बताए । यद्यपि, पर्सा प्रहरीले मृत्युबारे पुष्टि भने गर्न नसकेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।
सो आगलागीमा परी सख्त घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको छ ।
बिहान ६ बजेतिर प्लान्टमा ग्यास लिकेज भएर आगलागी हुँदा आगो नियन्त्रणबाहिर गएपछि प्रहरीले जगरनाथपुर सुखचैनालगायतका एक किलोमिटर वरिपरि रहेको बस्ती खाली गराएको छ ।
हालसम्म आगो नियन्त्रणबाहिर गएपछि आगो निभाउन अमलेखगन्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र वीरगन्जस्थित महावाणिज्य दूतावासले भारतको रक्सौलबाट मगाएको थप एक अर्काे दमकल झिकाइएपनि भीषण आगलागीका कारण घटनास्थलसम्म दमकल जान सकेको छैन ।
ग्यास भन्डारण गरिएको स्थानमा आगो बलिरहेकाले आगो नियन्त्रणमा लिन नसिकएको बारुणयन्त्रका कर्मचारीले बताएका छन् ।
सो आगलागीमा अन्य कति व्यक्ति हताहत भएको र के–कति सम्पत्ति जलेर नस्ट भएको सो खुल्न सकेको छैन ।
सो आगलागी नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी प्रयासरत् रहेको छ । रासस










प्रतिक्रिया दिनुहोस्