Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ग्यास उद्योगमा भीषण आगलागी, दुईजनाको मृत्यु, ९ घन्टापछि आगो नियन्त्रणमा (भिडियो)


0
Shares

आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत् दुई कर्मचारीको जलेर मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् ।

आगलागी भएसँगै त्यहाँ पुगेको वीरगन्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुवैजना कर्मचारीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा मधुसुदन मिश्र र यादवप्रसाद अधिकारी छन् ।

बारुणयन्त्रका कर्मचारी अम्बिका पटेल, सन्जीव नेपाल, अरुण महतोसहित ६ जना जलेर गम्भीर घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले जानकारी दिए ।

आगोमा परी गम्भीर घाइते भएकामध्ये अग्निनियन्त्रक अरुणकुमार महतो र सन्जीव नेपाललाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगी ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

आगो नियन्त्रण गर्न भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट आगो निभाउने उपकरण तथा केमिकल ल्याइएको थियो । यस्तै, बाराको सिमरा विमानस्थलमा रहेको दमकल पनि प्रयोग गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि आगो निभाउन परिचालन गरिएको थियो ।

आगलागीबाट उद्योगमा रहेका चारओटा ग्यास बुलेट, दुईओटा पिकअप, जेनरेटरलगायतका भौतिक सामग्री नस्ट भएको जनाइएको छ ।

उद्योगभित्रका ग्यास सिलिन्डर पड्कँदा विस्फोटका आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ग्यास उद्योगमा आगलागी भएपछि वीरगन्जका सबै विद्यालय बन्द गरिएको थियो भने प्रहरीले जगरनाथपुर सुखचैनालगायत एक किलोमिटर वरपरको बस्ती खाली गराएको थियो ।

पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले बुलेटबाट ग्यास ‘लिक’ भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।

आगलागीको सम्बन्धमा छानबिन गर्न एलपी ग्यास उद्योग संघले पाँच सदस्यीय समिति गठन गरेको छ ।

समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन छन् । छानबिन समितिलाई पाँच दिनभित्र प्रतिवेदन दिन भनिएको छ ।

सात वर्षअघि स्थापना गरिएको सो उद्योग अबुलेश अन्सारीले सन्चालन गर्दै आएका थिए ।

भिडियो हेर्नुहोस्