Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सहमति कार्यान्वयन नभएपछि उधारोमा उखु बिक्री गर्न बाध्य भए किसान


0
Shares

गतहप्ता उखु उत्पादक कृषक महासंघ र उद्योगीहरुबीच भएको बैठकले तत्काललाई गतवर्षको मूल्य निर्धारणलाई आधार मानेर भुक्तानी गर्ने सहमति गरेको थियो ।

तर नवलपरासीका उद्योगहरुले भने निर्धारित रकमसमेत नदिंदा किसानले बाध्य भएर उधारोमा उखु दिन थालेका हुन् ।

गतवर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३१ रुपैयाँ २० पैसा निर्धारण गरिएको थियो ।

जिल्लामा रहेका तीन वटा उद्योगले मिल गेटसहित विभिन्न स्थानमा तौल केन्द्र स्थापना गरेर उखु खरिद गरिरहेका छन् ।

त्यसरी बिक्रीका लागि उखु लिएर पुगेका किसानलाई उद्योगले उधारो पूर्जी दिएर पठाउने गरेका छन् ।

किसानले उधारोमै उखु दिन थालेपछि नवलपरासीमा रहेका बाग्मती, लुम्बिनी र इन्दिरा चिनी उद्योग सञ्चालनमा आएका छन् ।

उद्योगबाट भुक्तानी पाउन २ महिनादेखि १ वर्षसम्म कुर्नुपर्ने विगतको बाध्यताले किसानले घर खर्च चलाउनका लागि स्थानीय क्रसर उद्योगमा समेत सस्तोमा उखु दिने गरेका छन् ।

यसवर्षको उखुको भाउ प्रतिक्विन्टल कम्तिमा ५ सय ६२ रुपैयाँ उपलव्ध गराउन आफूहरुले माग गरेको उखु उत्पादक कृषक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।

गत साता उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिमा तत्काललाई मिल सञ्चालन गर्न गतवर्षको रकम उपलव्ध गराउने सहमति भएको थियो ।

भारतमा उखुको मूल्य यसवर्ष २० रुपैयाँ बढेकाले आफूहरुले पनि सोही अनुसार ३२ रुपैयाँ बढाउन माग गरेको उखु किसान बताए ।

बाग्मती चिनी उद्योग प्रतापपुरका प्रबन्धक टंक काफ्लेले चिनी उत्पादक संघबाट कुनै जानकारी नआएकाले अहिलेलाई उधारोमा उखु खरिद गरी मिल सञ्चालन गरिएको बताए ।

भुक्तानी समस्याका कारण हरेक वर्ष जिल्लाको उखु उत्पादनमा कमी हुँदै आएको छ ।

चार वर्ष अघि २२ लाख क्विण्टल उत्पादन हुँदै आएको नवलपरासीमा यसवर्ष १२ देखि १४ लाख क्विण्टल मात्र उत्पादन हुने अनुमान छ ।