काभ्रेपलान्चोकमा १० हजार घर पुनःनिर्माण • Image Khabar Image Khabar


काभ्रेपलान्चोकमा १० हजार घर पुनःनिर्माण


Imagekhabar
६ पुष २०७४, बिहीबार १४:४०

काभ्रेपलान्चोकमा १० हजार घर पुनःनिर्माण

भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो । पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले अझै भूकम्प पीडितको दुई हजार निवेदन अध्ययनका क्रममा रहेको जानकारी दिए ।

पीडितले बनाइसकेका घर भूकम्प प्रतिरोधी छन् वा छैनन् त्यसको पनि अध्ययन भइरहेको छ उनले भने । प्रमुख गैडाले काभ्रेपलान्चोकको भूकम्प पीडितका लागि आएको रु २ अर्ब ५० करोडमध्ये चालु आवको भदौदेखि मंसिरसम्म चार महिनामा रु ७६ करोड ३० लाख खर्च भएको जानकारी दिँदै यो खर्च अझै बढ्दै जाने बताए ।

जिल्लाको मन्डनदेउपुर नगरपालिकाको चन्डेनीमन्डन, सापिङ, उग्रचन्डीनाला, बनेपाको रविओप, पनौतीको कुशादेवी, पनौतीकै बल्थली, पाँचखाललगायतका क्षेत्रमा पुनःनिर्माण भएको बताइएको छ ।

पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका अनुसार ७२ हजार ४१७ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ६५ हजार ७७३ छन् । त्यसमध्ये प्रथम किस्ता बापतको राहत रकम पाउने ६५ हजार ७७३, दोस्रो किस्ता बापतको राहत रकम पाउने ९ हजार ३१८ र तेस्रो किस्ता बापतको राहत रकम पाउने २ हजार ९०५ रहेका छन् ।

प्रमुख गैडाले पानीको समस्या, काठको समस्या र दक्ष कामदारको अभावले पनि पुनःनिर्माण प्राभावित भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्