Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेकपाभित्र मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न, मन्त्रिमण्डल पुनःगठन गर्न माग


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा सदस्यहरुले मन्त्रिमण्डल पुनःगठन गर्नको माग गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्रीमण्डल पुनर्गठन गर्न नेताहरुले चर्काे दबाब दिएका हुन ।

अध्यक्षद्वयको राजनीतिक प्रस्तावमाथि विचार राख्ने क्रममा स्थायी समिति सदस्यहरुले केही मन्त्रीहरुको कार्यशैलीमा प्रश्न उठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिएका हुन् ।

आजको बैठकमा नेताहरु रघुजी पन्त र भीम आचार्यलगायतले सरकारको कामकारवाही र छवी सुधार गर्नका लागि मन्त्रीमण्डल पुनर्गठनको आवश्यकता रहेको बताएका थिए ।

उनीहरुले जतिसक्दो चाँडो मन्त्रीमण्डल पुनर्गठन गरेर सरकारको छवी उज्यालो पार्नुपर्ने धारणा राखेका थिए ।

यता केही स्थायी समिति सदस्यहरुले एसिया प्यासिफिक सम्मेलनमा सरकारी संलग्नतामाथि प्रश्न उठाएका छन् ।

उनीहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।

छलफलमा भाग लिने अधिकांश नेताहरुले विवादास्पद सम्मेलनमा सरकारको सहभागितामा प्रश्न उठाएका हुन् ।

देव गुरुङ, रघुवीर महासेठ, भीम आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले आफ्नो धारणा राखेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक मानिएका नेताहरुले नै एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताको चर्को आलोचना गरेका छन् ।

सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।