Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


शान्ति प्रवेशद्वारा निर्माणस्थल परिवर्तन गर्न खोज्दा विवाद


0
Shares

रुपन्देही, पुस ४ । रुपन्देहीको नेपाल–भारत सीमा नाका बेलहियामा निर्माण गर्ने भनिएको शान्तिद्वार विवादमा परेको छ । नाकादेखि एक किलोमिटर टाढा डण्डापुल नजिक शान्तिद्वार बनाउने नगरपालिकाको निर्णय विवादमा परेको हो ।

सिद्धार्थनगर नगरपालिकाको बोर्ड बैठकले बेलहिया नाकामा नेपालको चिनारीसहितको बुद्धत्व झल्किने गरी १ करोड ५० लाखको लगानीमा आकर्षक प्रवेशद्वार निर्माण गर्ने निर्णय गरेको थियो । तर, अहिले नगरपालिकाले आफ्नै निर्णयलाई उल्ट्याउँदै नाकादेखि एक किलोमिटर टाढा डण्डापुल नजिक प्रवेशद्वार बनाउने निर्णय गरेपछि विवादमा परेको हो ।

नगरपालिकाको पछिल्लो निर्णयको बेलहियाबासीले विरोध जनाएका छन् । यो नाका हुँदै भारतलगायत तेस्रो मुलुकका लाखौं पर्यटक लुम्बिनी भ्रमणमा आउँछन् । तर नगरपालिकाले नाकामा निर्माण गर्ने भनेको प्रवेशद्वार अन्यत्र सार्ने भएपछि पर्यटक अलमलमा पर्ने सम्भावना रहेको स्थानीय डा. शान्तकुमार शर्माले बताए ।

बेलहिया गाउँ समाजका अध्यक्ष मोहन शाहीले नगरपालिकाले स्थानीयसँग कुनै छलफल नै नगरी एकल रुपमा नेपाल भित्रिने पर्यटकलाई दिग्भ्रमित पार्ने गरी नाकामा रहेको प्रवेशद्वार भत्काई डण्डापुलमा बनाउने गरेको निर्णय मान्य नहुने चेतावनी दिए । स्थानीय सुशील गुरुङले नगरपालिकाको निर्णय परिवर्तनले मुलुकको सार्वभौमसत्तामै खतरा उत्पन्न हुने बताए ।

सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले भने हाल सञ्चालनमा रहेको मुख्य सडक बन्द हुने अवस्था आएपछि प्रवेशद्वार निर्माणको स्थान परिवर्तन गरिएको दाबी गरे ।

नगरपालिकाले निर्माण गर्न लागेको प्रवेशद्वार ५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाई तथा सडकदेखि २९ मिटर अग्लो हुने बताइएको छ । द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक बस्तु, स्वयम्भूको आँखासहितको बुद्धचिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्धमूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपालको राष्ट्रिय झन्डा, बुद्ध झण्डाले सिंगारिने उल्लेख गरिएको छ । तर, नगरपालिकाको निर्णय नै विवादमा परेपछि यो प्रवेशद्वार निर्माण अलपत्र परेको छ ।