Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


मानवाधिकार हननका १५१ घटना सार्वजनिक


0
Shares

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८’ का लागि संकलित घटना विवरण शुक्रबार सार्वजनिक गर्दै जिल्लामा विगत वर्षका तुलनामा यस वर्ष मानवाधिकार हननका घटनामा कमी नआएको जनाएको छ ।

घटना सार्वजनिक गर्दै इन्सेक भक्तपुर प्रतिनिधि सविना केसीले जिल्लामा सन् २०१८ मा गैरराज्य पक्षबाट सातजनाको हत्या भएको तथा बलात्कारको घटनामा तीन बालिका र आठ महिला तथा बलात्कार प्रयास घटनामा चार महिला र एक बालिका एवं बहुविवाह घटनामा चार र घरेलु हिंसाबाट १२४ महिला पीडित भएको जानकारी दिइन् ।

कार्यक्रममा प्रजिअ द्रोण पोखरेलले जिल्लामा भएका घटना हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको बताउँदै घटनारहित समाज निर्माणमा प्रशासन, प्रहरी र सन्चारकर्मी र नागरिक समाज सबैको सहयोग र सहकार्य जरुरी छ भने ।

जिल्लामा घरेलु हिंसा डरलाग्दो चुनौतीका रुपमा रहेको बताउँदै उनले यस्ता घटनाले आत्महत्यासमेत बढेकाले न्यूनीकरण गर्न कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाले शान्त र सुरक्षित भक्तपुर प्रयास भएको बताउँदै विगतको तुलनामा जिल्लामा अपराधका घटनामा केही कमी हुँदै गएको जिकिर गरे ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले मानवाधिकार उलंघनका घटना न्यूनीकरण गर्न स्थानीय निकायले सहयोग र सहकार्य गर्ने बताए । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले अपराध न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

मानवअधिकार सन्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्यालले गतवर्ष ६ जनाको हत्या, १२ जनाको बलात्कार, ६ जनाको बलात्कार प्रयास, पाँचजनाको बहुविवाह, एकजनाको मानव बेचबिखन र २०९ जनामा घरेलु हिंसा भएको बताउँदै मानवाधिकार उल्लंघनको घटना गत वर्षभन्दा यस वर्ष प्रभावकारी रुपमा घटाउन नसकिएको स्वीकारे । रासस