
जिल्लामा यो वर्ष ८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ ।
यो वर्ष ५२ हजार ८१६ मेट्रिक टन धान उत्पादन भएको छ । गत आवको तुलनामा इलाममा ३ हजार ७१६ मेट्रिकटनले बढी धान उत्पादन भएको हो । गत आवमा ४९ हजार १०० मेट्रिक टन धान उत्पादन भएको थियो ।
यसवर्ष मौसमले राम्रो साथ नदिए पनि मलको अभाव नभएपछि धान उत्पादनमा वृद्धि भएको इलाम नगरपालिका ९ का कृषक हेम तिम्सिनाले बताए ।
जिल्ला कृषि विकास कार्यालय इलामका योजना अधिकृत प्रकाशमणि काफ्लेका अनुसार जिल्लामा हर्दिनाथ–१, राधा–१२, मनसुली, मकवानपुर–१, चिराँखे, भँगेरे र बेलगुठी जातका धान खेती गरिन्छ ।
उनले भने, ‘जिल्लाका १० स्थानीय तहका चुरे क्षेत्रहरु चुलाचुली, दानाबारी, महमाई, बाँझोलगायतका क्षेत्रमा धानको उत्पादन बढी हुने गरेको छ ।’ यी क्षेत्रहरुबाट झापाका बजारहरुमा धानको निकासी हुँदै आएको छ । तर, कति धान उक्त क्षेत्रबाट निकासी हुन्छ भन्ने तथ्यांक भने जिल्ला कृषि विकास कार्यालयसँग छैन् ।
यस वर्ष इलाममा १५ हजार ९१५ हेक्टर जमिनमा धानखेती गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्