Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जंगली हात्तीले टावर ढाल्दा विद्युत् आपूर्ति अवरुद्ध


0
Shares

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाँकेको शमशेरगन्ज नजिक पर्ने १३२ केभी डबल सर्किट प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्‍याएको थियो ।

टावर नम्बर–४८५ क्षतिग्रस्त भएपछि सो संरचनाबाट विद्युत् प्रवाह हुने १३२ केभी सबस्टेशन लालपुर, अत्तरिया, पहलमानपुर, भुरीगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत् प्रवाह गर्न अवरोध भएको हो ।

हाल ती स्थानमा टनकपुर सबस्टेशन भएर भारतबाट आयात हुने विद्युत्मात्र प्रवाह भइरहेकाले ती सबस्टेशनबाट विद्युत् आपूर्ति हुने विभिन्न क्षेत्रमा समस्या पैदा भएको छ । ती स्थानमा हाल करिब १५ मेगावाट विद्युत् अपुग भई केहीबेर विद्युत् कटौती गर्नुपर्ने बाध्यता आएको घिसिङले जानकारी दिए ।

टावरको वास्तविक क्षति पत्ता लगाई नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको प्राधिकरणले जनाएको छ । उक्त ठाउँमा अस्थायी र स्थायी व्यवस्था अविलम्ब मिलाई विद्युत् आपूर्ति नियमित बनाउन प्राधिकरण क्रियाशील भएको घिसिङले बताए । रासस