विभिन्न संघ–संस्थाले जनचेतनामूलक कार्यक्रम गरेसँगै महिलाले छाउपडी प्रथाविरुद्ध आवाज उठाउन थालेका हुन् ।
सुदूरपश्चिमका जिल्लाहरुमा अहिले पनि छाउपडी प्रथाले जरो गाडेको छ । बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, कन्चनपुर, दार्चुल्ला, डडेल्धुरा र बैतडीका ग्रामीण बस्तीहरुमा अहिले पनि छाउगोठ देख्न सकिन्छ ।
तर, पछिल्लो समय स्थानीय महिला र विभिन्न संघ–संस्थाको पहलमा छाउगोठ हटाउनेक्रम बढ्न थालेको छ ।
रुढिवादी परम्पराले गर्दा अहिले पनि धेरै ठाउँका महिलाहरु महिनावारी भएको समयमा एकान्त ठाउँ वा गोठमा बस्दै आएका छन् ।
विभिन्न संघ–संस्थाहरुले जनचेतनामूलक कार्यक्रमहरु सन्चालन गरेको भएपनि केही ठाउँमा क्रमिकरुपमा सुधार हुँदै गएको छ भने केही ठाउँमा भने छाउपडी प्रथा कायमै रहेको छ ।
बझाङको तल्कोट गाउँपालिका–१ सुनिकोटका महिलाहरुले भने छाउपडी प्रथाको खुलेरै विरोध गर्न थालेका छन् । पहिले घरको आगनभन्दा झन्डै ३०० मिटर टाढा बस्ने यहाँका महिलाहरु अहिले घरभित्रै बस्न थालेका छन् ।
युएमएन तथा महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा सन्चालित व्यवहार परिवर्तन परियोजना कार्यक्रम लागू भएपछि यहाँका महिलाहरुले छाउपडी प्रथाको विरोध गर्न थालेका हुन् ।
विभिन्न र्याली, अन्तरक्रियामार्फत् उनीहरुले छाउपडी प्रथाको विरोध गरिरहेका छन् । परिवर्तन हुनका लागि पहिला आफैंबाट सुरुआत गर्नुपर्ने यहाँका महिलाहरुको भनाइ छ ।
महिनावारी हुँदा पोसिलो खान नपाउने यहाँका महिलाहरुले अहिले महिनावारी हुँदा मोही, घ्यू, दही सबै खाने गरेको बताउँछन् ।
महिनावारी भएको बेला घरभित्रै बस्दा र पोसिलो खानेकुरा खाँदा देवी–देवता रिसाउने, वंश नै नास हुने, पशु–चौपाया मर्ने, सन्तान नहुनेलगायतका अन्धविश्वासका कारण यहाँका महिलाहरु वर्षौैंदेखि छाउगोठमा बस्दै आएपनि अहिले घरभित्रै बस्नका लागि प्रतिस्पर्धाजस्तै चलेको छ ।










प्रतिक्रिया दिनुहोस्