भूकम्पको असरले थातथलोमा बस्ने जोखिम र अन्यत्र जग्गा नभएका साबिक डाडागाँ गाविस–८ र ९ का ४८ परिवारका लागि जनही चार आनाका दरले जग्गा खरिद गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रसुवा इकाइका प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले शनिबार एक कार्यक्रमबीच ती भूकम्प प्रभावित परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरे ।
उत्तरगया गापा–५ स्थित बोगटीटारको बगैँचा क्षेत्रमा उनीहरुका लागि एकीकृत बस्तीको व्यवस्था गरिएको छ भने स्थानान्तरण गर्नुपर्ने सूचीमा रहेका अन्य ३०५ जनाका लागि जग्गा खोज्ने कार्य भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रसुवाले जनाएको छ ।
तयार भएका जग्गाधनी प्रमाणपुर्जा भने शनिबार नै दुईजनालाई वितरण भएको र ४४ जनालाई स्थानीय बसोबास क्षेत्रबाटै वितरण गरिने प्रमुख उपाध्यायले बताए ।
दक्षिणी रसुवाको बोगटीटार बगैँचा क्षेत्रमा एकीकृत बस्ती विकासका लागि केशव आचार्य, वसन्त लामिछानेलगायतका सातजना स्थानीय बासिन्दाले जग्गा प्रदान गरेको र उनीहरुलाई निर्धारित मापदन्डअनुरुप प्रतिपरिवार रु दुई लाखका दरले प्रजिअ चोमेन्द्र न्यौपानेमार्फत जग्गाको मूल्य भुक्तानी चेक हस्तान्तरण गरिएको पनि उनले बताए । रासस









प्रतिक्रिया दिनुहोस्