Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


राप्ती बगरमा भाले गोही छाडियो


0
Shares

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार शुक्रबार (हिजो)दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्व–पश्चिम राजमार्गको बबई खोलाको पुलमुनिबाट भाले गोही नियन्त्रणमा लिई शनिबार(आज) बिहान यहाँ ल्याइएको हो । सो गोहीलाई राप्ती नदीको खोरिया मुहान बगरमा छाडिएको हो ।

कँडेलका अनुसार राप्ती र नारायणीको संगमस्थल गोलाघाटबाट एक किमी पूर्वतर्फ खोरिया मुहानमा राप्तीको निकुञ्जतर्फको बगरमा गोही छाडिएको हो ।

करिब ३५ वर्षको सो भाले गोही ४१६ सेन्टिमिटर लामो रहेको उनले बताए । सो गोहीको तौल ८०० किलो हाराहारीको छ । ती दुई नदीमा प्रजननमा सहयोगी बन्दै आएको एकमात्रै भाले गोही गएको जेठ १० गते नारायणी नदीको अमलटारीदेखि पश्चिम नन्दपुरमा जालमा परेर मरेको थियो । सो पश्चात् ती दुबै नदी भाले गोहीविहीन बन्न पुगेका थिए ।

सन् २०१६ को तथ्यांकअनुसार यी दुई नदीमा १६६ गोही रहेका थिए । हालसम्म प्रजनन केन्द्रमा हुर्काएर राप्तीमा ५६६ ओटा र नारायणीमा ३९९ ओटा छाडिएको कसरामा रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताए ।

सन् २०१६ को गणनामा बबईमा ३१ ओटा र कर्णालीमा एउटामात्रै गोही फेला परेको थियो । हालसम्म बबईमा ११० र कर्णालीमा ४१ ओटा गोही छाडिसकिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा गोही प्रजनन केन्द्र रहेको छ । सोही प्रजनन केन्द्रमा गोही हुर्काएर विभिन्न नदीमा छाडिँदै आएको छ ।

बबईबाट गोही ल्याउनुअघि निकुञ्जको टोलीले कर्णाली नदीमा पनि भाले गोहीको खोजी गरेको थियो । कर्णालीमा गोही नभेटिएको कँडेलले बताए ।

भारतीय क्षेत्रमा भने भाले गोही देखिएको उनले बताए । भारतीय क्षेत्रको कतरनियाघाट टाइगर रिजर्वका डिएफओ ज्ञानप्रकाश सिंहसँग भारतबाट नेपालमा भाले गोही ल्याउने विषयमा छलफल भएको कँडेलले बताए ।

उनले भने, ‘कूटनीतिक प्रक्रिया पुर्‍याएर भाले गोही ल्याउने विषयमा हाम्रो सकारात्मक छलफल भएको छ ।’ कसराको प्रजनन केन्द्रमा एउटामात्रै भाले गोही रहेको छ । अर्काे एक भाले गोही गएको फागुनमा मरेपछि हाल प्रजनन केन्द्रमा एउटा गोहीले धानेको छ जसका कारण प्रजननमा समस्या आएको खड्काले बताए ।

प्रजनन केन्द्र र राप्ती तथा नारायणीमा एक–एक ओटा भाले गोही भारतबाट ल्याउनु पर्ने कँडेलले बताए ।

कसराको प्रजनन केन्द्रमा एउटामात्रै भाले गोही रहेको र राप्ती र नारायणी नदीमा एउटा पनि भाले गोही नभएपछि निकुञ्ज ६ महिनायता भाले गोहीको खोजीमा रहेको थियो । रासस