एक दशकदेखि व्यावसायिक कृषिमा लागेका कुश्माका लालबहादुर हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’ को सफल परीक्षण गरेका हुन् ।
मोदी–५ र कुश्मा–३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका हरिजनले गत असोजमा सुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’ को खेती सफल भएको हो ।
हरिजनले दुईवटा फलामे स्ट्यान्डको सहारामा ३ मिटर लम्बाइ, ३ इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्यानलको सहयोगमा यस्तो प्रविधिको खेती गरेका हुन् ।
परीक्षणका रूपमा लगाइएको चाइनिज ‘सलाद साग’ ले त्यही जमिनमा लगाएको भन्दा सात गुणा बढी उत्पादन दिएको छ ।
यो स्ट्यान्डले १ स्क्वायर मिटर जमिन ओगटेको छ । जमीनमा २५ वटा बिरुवा अट्नेमा यहाँ १३० वटा बिरुवा अटाएका छन् ।
जमिनमा भन्दा फल धेरै छिटो र राम्रो उत्पादन भएको हरिजनले बताए ।
बजारमा विषादीयुक्त तरकारीको बिगबिगी बढेका बेला यस्तो प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत अर्गानिक हुने हरिजनको दाबी छ ।
१५ देखि २० हजारको लगानीमा तयार हुने यो प्रविधि एकपटक बनाइसकेपछि ३० वर्षसम्म काम लाग्ने हरिजनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्