२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एउटै नगरपालिकाका बासिन्दाबीच खानेपानी विवाद, रातारात पाइप टुक्रा–टुक्रा पारियो


0
Shares

बागलुङ–४ कुडुुले छापका १०९ परिवार र बागलुङ नगरपालिका–५ बान्द्रका करिव १ दर्जन घर परिवारलाई खानेपानी आपुर्तिका लागि पाइप गाडेपछि विवाद भएको हो ।

फेदीका स्थानीयले परापूर्वकालदेखि सिचाईमा प्रयोग गर्दै आएको पानी अन्यत्र लैजान नहुने भन्दै विरोध गरेका हुन् भने छाप र वान्द्रका स्थानीयले आफुहरु एउटै वडाको बासिन्दा भएको तथा पहिलादेखि नै प्रयोग गर्दै आएको पानी प्रयोग गर्न रोक्न नमिल्ने तर्क गर्दै आएका छन् ।

दुई पक्षबीच विवाद भएपछि शुक्रबार गाडिएको १५ सय मिटर पाईप एक पक्षले काटेको छ । बागलुङ नगरपालिकाको न्यायिक समितिको निर्णयअनुसार गाडिएको पाईप फेदीका स्थानीयले रातारात टुक्रा–टुक्रा पारेर काटेका हुन् । पाइप काटेर फेदीका बासिन्दाले अमानवीय व्यवहार देखाएको खानेपानी उपभोक्ता समिति बानपा–४ कुडुलेका अध्यक्ष विवेक हमाल बताउँछन् ।

यता फेदीबासीले आफुहरुले पहिलेदेखि प्रयोग गर्दै आएको पानी अन्यत्रै लैजादा आफूहरुलाई अपुग हुने भन्दै अन्यत्र लैजान नदिने अडान लिएका छन् । यसअघि आफुहरुले पटक पटक विरोध जनाए पनि सुनुवाई नभएकाले पाईप निकालेको उनीहरु बताउँछन् ।

पानीको मुहानको विषयमा यसअघि अदालतमा समेत मुद्दा परि फैसला भएको स्थानीयले बताए ।

यस्तै बागलुङ नगरपालिका–५ तल्लो वान्द्रेका रुद्रप्रसाद शर्माले आफुहरुले खानेपानीको लागि हालेको पाईप फेदीका स्थानीयले पटक पटक काट्ने तथा फाल्ने काम गरेको बताए ।

लामो समयदेखि विवादित विषय समाधान गर्न गठित विवाद समाधान समितिले तत्कलका लागि खोलाबाट २५ एमएमको पाईमा छापामा र १६ एमएमको पाईपमार्फत बानपा–५ को बान्द्रेमा खानेपानी लाने निर्णय गरेको थियो ।

विवाद समाधानका लागि वडा नम्वर ४ का वडा अध्यक्ष ध्रुवबहादुर केसी संयोजकत्वको समितिले विवाद समाधानको प्रयास गरिरहेको अध्यक्ष केसीले बताए ।

पानीको समस्या भएको स्थानमा खानेपानी पुर्‍याउने नगरपालिकाको कर्तव्य भएकोले नगरपालिकाले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने बागलुङ नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक सुरेन्द्र खड्काले बताए ।