
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज पनि जारी छ ।
पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले टिप्पणी गरिरहेका छन् ।
प्रतिवेदनमाथि टिप्पणी गर्ने नेताहरुले सरकार र पार्टी सञ्चालनमा गम्भीर असहमति व्यक्त गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सञ्चालन प्रक्रिया राम्रो नभएको र त्यसले पार्टीलाई दीर्घकालीन असर पार्ने चेतावनीसमेत दिएका छन् ।
प्रतिवेदनमाथीको हिजो भएको छलफलमा बामदेव गौतम र घनश्याम भुषालले नेतृत्वको चर्को आलोचना गरे ।
त्यसैगरी युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अग्नी सापकोटा, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल र शक्ति बस्नेतले आ–आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा बाँकी अन्य स्थायी समितिका सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको लामो समय भइसक्दासमेत तल्लो तहको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन ।
त्यसैगरी केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट नगरिएको भन्दै आलोचनासमेत हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्