Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


जीप दुर्घटनामा ७ जनाको मृत्यु, भीरबाट शव ल्याइयो


0
Shares

सन्तोष राउत

सोलुखुम्बु, असार १५ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ को तिङलाको बरबोट डाँडा नजिक रहेको महादेवस्थान भीरमा जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै र उपचारका लागि लैजाने क्रममा एक जनाको जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको हो ।

सात जना यात्रु बोकेर नेचासल्यान गाउँपालिकाको सल्यानबाट सदरमुकाम सल्लेरीका लागि छुटेको को१ज १८६० नम्बरको बोलेरो जीप बिहान साँढे सात बजे सडकबाट करिब एक किलोमिटर तल खसेको हो ।

घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोलीकाअनुसार मृत्यु हुनेहरुमा जीप चालक उदयपुर सिरिसे–८ का कुसाङ तामाङ, नेचासल्यान गाउँपालिका–२ खाल्पाकी सुशिला खड्का, नेचासल्यान गाउँपालिका–२ घर भएकी महेन्द्रोदय माध्यामिक विद्यालयकी लेखापाल उर्मिला बास्तोला, सिरहा घर भएका वन कार्यालय सल्यानमा कार्यरत फरेष्टर शिवकुमार यादव, सोही कार्यालयकी वन रक्षक कोपिला कार्की (बस्नेत) र जीप धनी ओखलढुङगा माम्खा ५ घर भएका श्यामकुमार राई छन् । 

दुर्घटनामा गम्भिर घाइते भएकी करिब १० वर्षीय बालिका सुष्मा खड्काको पनि उपचारका क्रममा मृत्यु भएको छ । 

प्रहरी घटनास्थलमा पुग्न ढिलो हुँदा शुरुमा स्थानीयबासीले उद्धार गरेको भए पनि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोलीले शबलाई भीरबाट लामो समय लगाएर बाहिर निकालेका छन् । घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ ।