२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गाउँलेहरुले तमोर नदीमा काठेपुल बनाएर गाउँमा गाडी पुर्‍याए


0
Shares

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ को खेजेनिममा पहिलो पटक सवारी साधन पुगेको छ ।

स्थानीयबासीले तमोर नदी माथी काठको मोटरेवल पुल निर्माण गरी गाउँमा सवारीसाधन पुर्‍याएका हुन् ।

स्थानीयको सकृयतामा एक साता बढी समय लगाएर बनाइएको यो पुल हुँदै सवारीसाधन ओहोरदोहोर गर्न थालेका छन् ।

खेजेनिममा सुरु भएको मानाभरा महोत्सवलाई समेत लक्षित गरेर स्थानीयले काठे पुल निर्माण गरेका हुन् ।

हिउँद भर भए पनि उक्त पुल हुँदै गाउँमा सवारी साधन चल्ने भएपछि स्थानीय हर्षित बनेका छन् ।

वर्खा लागेपछि भने पानीको बहाव बढ्ने भएकाले सो पुल सञ्चालनमा आउने छैन ।

सोही ठाउँमा मोटरेवल पुल निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले जानकारी दिए ।

बहुवर्षिय ठेक्का मार्फत पुल निर्माण गर्ने गरी यो वर्ष बजेट विनियोजन गरिएको र यसै महिनाभित्रै सर्भे गरेर निर्माण थाल्ने तयारी भइरहेको साम्सोहाङको भनाइ छ ।