Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


कार्कीलाई कृषिबाट फलिफाप, एक हजारको लगानीबाट एक करोडको सम्पत्ति


0
Shares

सँगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगेका भएपनि कार्कीको प्रगति देखेर उनीहरु पनि आश्चर्य चकित हुने गरेका छन् ।

२०३४ सालमा १८ वर्षको उमेरदेखि रु एक हजारको लगानीबाट कृषि पेशा शुरु गरेका कार्की अहिले जिल्लाका नमूना कृषक र कृषि पेशाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन् ।

आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत हुन् ।

कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछा पालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका छन् ।

‘मैले १८ वर्षको उमेरदेखि तरकारी खेती शुरु गरेको हुँ,’ कार्कीले विगत कोट्याउँदै भने, ‘त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै अफर आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।’

रु एक हजार लगानीबाट शुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले रु एक करोडभन्दा बढीको मालिक बनाएको छ । तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले अत्यन्तै महँगो शहरमध्येमा पर्ने बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घरसमेत बनाइसकेका छन् ।

त्यसैगरी, उनले पर्वत बेनीमा समेत घडेरी किनेका छन् । कृषिबाट मात्र वार्षिक रु १२ लाखभन्दा बढी कमाइ हुने बताउने कार्कीले दैनिक दूधसमेत बिक्री गर्छन् ।

त्यस्तै, गाउँमा र बेनीको मंगलाघाटमा गरी दुईवटा पसलसमेत सञ्चालन गरेका छन् । बेनीको मंगलाघाटमा रहेको उनको पसलमा अर्ग्यानिक कृषिउपज, फलफूल र तरकारीका बिरुवा (बेर्ना), वर, पीपल, समी, तुलसीलगायत धार्मिक वृक्षका बिरुवासमेत पाइन्छन् ।

कृषि पेशाबाट भएको आम्दानीले कार्कीले गाउँमा जग्गासमेत जोड्नुभएको छ । ‘रु एक हजारबाट शुरु गरेको कृषि पेशाले अहिले करोडौँको सम्पत्तिको मालिक बनायो,’ कार्कीले भने, ‘माटोसँग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ, यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपु¥यायो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो ।’

खबराको पीपलडाँडाको तल्लोपट्टी पर्यटकीयस्थल लब्लीहिलको नजिकै रहेको उनको घर र खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय भरत कार्कीले बताए । सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारी खेती र केराबारी हेर्नका लागि लब्लीहिलमा पुगेका आन्तरिक तथा बाह्य पर्यटक समेत उनको घरमा नै जाने गरेका छन् ।

कार्कीको प्रगति देखेर त्यहाँ पुग्ने धेरै मानिसले आश्चर्य प्रकट गर्दछन् । गर्न सक्ने हो भने आफ्नै माटोमा पैसा फलाउन सकिँदो रहेछ भन्ने कुराको प्रमाण बनेका कार्कीलाई उनका छोरा र श्रीमती लक्ष्मी कार्कीले सघाउँदै आएका छन् । (रासस)