२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘समयमा काम सम्पन्न नगर्नेलाई जरिवाना तिराउने व्यवस्था आवश्यक’


0
Shares

राष्ट्रिय योजना आयोगले शुक्रबार राजधानीमा आयोजना गरेको यातायात पूर्वाधारमा नीतिसम्बन्धी संवाद कार्यक्रममा यस्तो बताइएको हो ।

एउटै निर्माणकर्ताले धेरै ठाउँमा हात हाल्ने तर समयमा काम पूरा नगर्ने परिपाटी बढेको भन्दै समयमा काम सम्पन्न नगर्नेलाई जरिवाना तिराउनुपर्ने बताइएको हो ।

पूर्वमन्त्री एवं व्यवस्थापिका–संसदको कृषि समितिका पूर्वसभापति गगनकुमार थापाले कार्यपत्र प्रस्तुत् गर्दै काठमाडौं उपत्यकामा एउटा सडक कन्ट्रयाक्टरले ९ ठाउँमा जिम्मा लिएको तर कुनैपनि काम समयमै सम्पन्न नगरेको पाइएको बताए ।

उनले विदेशमाजस्तै समयमै काम सम्पन्न नगर्नेलाई जरिवाना तिराउनुपर्ने भन्दै न्यून ‘विडिङ’ले पनि समस्या पारेको बताए । सडक निर्माण गर्ने तरिकामा पनि सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

यस्तै, संसदको विकास समितिका पूर्वसभापति रवीन्द्र अधिकारीले भइरहेका नीति–नियमलाई बंग्याउँदा प्रतिफल आउन नसकेको बताए ।

उनले विद्यमान व्यवस्थाले काम गर्न नरोकेको भन्दै निकायहरुको इच्छाशक्ति नहुँदा समस्या आएको बताए ।

आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सडक पूर्वाधारमा मर्मतलाईसमेत ध्यान दिइनुपर्ने बताए ।

यसैबीच, आयोगले पहिलोपटक विद्युतीय गाडी खरिद गरी प्रयोगमा ल्याएको छ ।

आयोगका उपाध्यक्षले प्रयोग गर्ने गरी ल्याइएको विद्युतीय गाडीको शुक्रबारै सार्वजनिक गरिएको हो । यो गाडी एकपटक ‘फुल चार्ज’ गरेपछि ४०० किलोमिटर गुड्ने जनाइएको छ ।