२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेसको तल्लो तहसम्म निर्वाचनका माध्यमबाट प्रतिनिधि चयन हुनुपर्छः महासचिब खतिवडा


0
Shares

काठमाडौं । नेपाल महिला संघकी महासचिब धना खतिवडाले पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत नै प्रतिनिधि चयन हुनुपर्ने बताएकी छिन् ।

सोमबार हामीसँगको कुराकानीमा उनले राज्यले हरेक तह र तप्कामा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने प्रावधान अनुसार पार्टी पनि अघि बढ्नुपर्ने बताइन् । 

महासचिब खतिवडाले भनिन्, ‘हरेक तहमा चुनावका माध्यमबाट प्रतिनिधि छनोट गर्नुपर्छ र मनोनितको प्रावधान हटाइनु पर्छ, मनोनित नै राख्नुपरे १० प्रतिशत मात्र राख्नुपर्छ ।’

पार्टी भित्र गुट उपगुट जति नै भए पनि हाम्रो एजेन्डा एउटै भएकाले हामीवीचको एकता आजको आवश्यक्ता भएको बताउँदै उनले अब पार्टी बचाउने भनेको महिलाहरु नै भएको पनि उनको दावी छ ।

महिलाहरु अघि बढ्दा महिलाले नै खुट्टा तान्ने प्रबृत्तिको अन्त्य गर्दै महिलाहरुको हक हितमा निस्वार्थ रुपमा लाग्नुपर्ने उनको सुझाव छ ।

महासमिति बैठकबाट महिलामैत्री विधान तयार हुने र कार्यान्वयनमा आउने भएकाले आफूहरु आशावादी भएको उनले बताइन् ।

महासचिब खतिवडाले भनिन्, ‘यो बैठकबाट ३३ प्रतिशत महिला सुनिश्चित हुन्छ, यदि नभए बैचारिक लडाइँ सुरु गर्छौं ।’

नेतृत्व वर्गले महिलाका मुद्दामा गम्भीर हुन सकेन भने ठूलो घाटा हुने भएकाले यसका लागि महासमिति बैठकमा महिला साथीहरुले उठाएका मुद्दामा पार्टी नेतृत्वले गम्भीर भएर सोच्नेछ भन्नेमा विश्वस्त रहेको उनले सुनाइन् ।

नेपाली कांग्रेसले नेपालका सात मध्ये तीन प्रदेशमा महिलाले नेतृत्व साथै संघ तथा तल्लो इकाइका हरेक तहमा पनि महिलाको सम्मानजनक उपस्थिति आवश्यक भएको उनले औल्याइन् ।