Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


भीमसेनदासले भने- ‘घरभाडा लिएको पाइए फिर्ता गर्छु’


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले संसद सचिवालयबाट घरभाडा वापत आफूले रकम लिएको भनेर आएको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन ।

उनले आइतबार विज्ञप्ती जारी गर्दै संसद सचिवालयबाट आफूले घरभाडा वापत रकम लिएको पाइए फिर्ता गर्ने बताएका हुन ।

काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रधानले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनामा घरभाडावापतको रकम आफूले लिएको भन्ने समाचाबाट आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तीमा भनेका छन । उनले त्यसका लागि आइतबार संसद सचिवालयमा पत्र समेत दर्ता गरेका छन्  ।

उनले संसद सचिवालयमा दर्ता गरेको पत्रमा भनेका छन,‘ मैले गत २०७४ फागुनबाट घरभाडा वापत संसद सचिवालयबाट रकम लिएको भन्ने समाचार सार्वजनिक भएको हुँदा के कति प्राविधिक कारणबाट सो रकम आफ्नो नाममा आएको हो, घर भाडा दिएको अवस्था रहे फिर्ता गर्ने आवश्यक व्यवस्थाका लागि अनुरोध छ ।’

उनले घरभाडा दिएको अवस्था रहे आफ्नो मासिक तलब भत्ताबाट कटौती हुने गरेर वा एकमुष्ट बुझाउँन पनि आफू तयार रहेको पत्रमा भनेका छन ।

प्रधानले २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा निर्र्वाचित भएपश्चात सम्पत्ति विवरण सम्वन्धि सुचनामा कामनपा–३० (हाल २७)मा संगोल घर रहेको कारणले घरभाडा वापत दिइने रकम नलिने साथै, दोस्रो संविधान सभा र हाल प्रतिनिधि सभाको सदस्य रहीरहँदा समेत औषधोपचार वापत पाउने सुविधा नलिएको संसद सचिवालयमा दर्ता गरेको पत्रमा भनेका छन ।