५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


काठमाडौंका विभिन्न स्थानमा ‘स्मार्ट बाकस’ (भिडियो)


0
Shares

काठमाडौं, पुस १ । काठमाडौंको विभिन्न स्थानमा सोलारबाट सञ्चालन हुने ‘स्मार्ट बाकस’ राखिएको छ । हावामा रहेको धुलोको कण तथा तापक्रम मापन गर्नुका साथै फोहोर संकलनका लागि बाकस राखिएको हो । यसबाट मोबाइल फोनसमेत चार्ज गर्न सकिन्छ ।

विशेष गरि फोहोर संकलन गर्न र काठमाडौं नगरपालिकाका जरुरी सूचना प्रदर्शन गर्ने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा स्मार्ट बाकस राखिएको छ । जसले धेरैको ध्यान पनि आकर्षित गरिरहेको छ । सोलारबाट सञ्चालित यी बाकसमार्फत मोबाईल चार्जिङ गर्नुका साथै केहि महत्वपूर्ण मापन पनि देखाईएको हुन्छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार यस्ता बाकसहरुको प्रयोग बहुद्धेश्यीय छ ।

बाकसहरुले तापक्रम र वायुमा रहेको धुलोका कणहरुको मात्रा देखाउने काम गर्दछन् । तर यी बाकसहरुमा जडित प्रदुषण मिटरले देखाउने मापन कत्तिको सहि हो भन्ने आशंका गर्ने अवस्था छ । यी बाकसहरुको आँकडालाई मान्ने हो भने काठमाडौंमा वायु प्रदुषण छैन । एयर क्वालिटी इन्डेक्स विश्लेषण गर्ने हो भने वायुमा धुलोको कण जति बढ्दै जान्छ त्यति नै वायु प्रदुषण बढि हुन्छ । धुलोको कण प्रतिघनमिटर हावामा ५० माइक्रोग्राम भन्दा कम भएमा वायु प्रदुषण नभएको अथवा राम्रो मानिन्छ, ५१ देखि १०० भए ठिकै, १०१ देखि १५० समवेदनशील, १५१ देखि २०० अस्वस्थ्यकर र २०१ देखि ३०० एकदमै अस्वस्थ्यकर हुन्छ भने ३०० देखि माथि खतरा हुन्छ ।

हाल काठमाडौंको ३५ स्थानमा जडित प्रदुषण मिटरले भने सबै ठाउँमा ५० भन्दा कम नै देखाईरहेको छ । विश्व स्वास्थ्य संगठनलगायत थुप्रै संघ संस्थाहरुले गरेका अनुसन्धानले काठमाडौंमा उच्च वायु प्रदुषण रहेको देखाउने गरेका छन् । यस्ता बाकसहरु काठमाडौं महानगरपालिकासँग मिलेर निजी कम्पनीले जडान गरेको हो ।

भिडियो हेर्नुहोस्