केशब भण्डारी
गुल्मी, पुस १ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १७ वर्षपछि अमेरिका र नेपालबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् ।
यसअघि अमेरिकाले नेपाललाई दिल्लीको आँखाबाट हेर्ने गरेकामा पहिलोपटक अमेरिकी विदेशमन्त्रीले आफूलाई औपचारिक वार्ताका लागि निमन्त्रणा गरेको उनले बताए ।
आइतबार आफ्नो निर्वाचन क्षेत्र गुल्मी १ को छत्रकोट हुंगास्थित जनजागृति माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँगको वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने दावी गरे । १७ वर्षको अन्तरालमा अमेरिकाले नेपाललाई महत्व दिएर औपचारिक वार्ताका लागि निम्ता दिनु नेपालको परराष्ट्र सम्बन्धमा महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ थियो ।
अमेरिकी समकक्षीसँगको वार्तामा आफूले तीनै तहका चुनावपछिको नेपालको अवस्था, नेपालका विकासका प्राथमिकता, लगानीका सम्भावनाका क्षेत्र आदि विषयमा छलफल गर्ने र यो वार्तापछि अमेरिकाले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने मन्त्री ज्ञवालीले बताए ।
अमेरिकी विदेशमन्त्रीसँग आफूले नेपालको सशस्त्र युद्धलाई आफ्नै मौलिक ढंगले शान्ति प्रक्रियामार्फत रुपान्तरण गरेको, संविधानसभाको चुनावमार्फत संविधान निर्माण, गणतन्त्र र संघीयता कार्यान्वयन लगायतका उपलब्धीबारे जानकारी गराउने उनले बताए । चुनावपछि दुई तिहाई बहुमतसहितको बलियो सरकार बनेपछि नेपालप्रति विश्वको चासो बढेको उनले बताए ।
वर्तमान सरकार बनेपछि भारत र चीन दुबैसँग परराष्ट्र सम्बन्ध विश्वसनीय बनेको र चीनसँग आठवटा नाकाबाट सडक खोल्ने प्रकृयामा रहेकाले अब नेपालमाथि कसैले नाकाबन्दी लगाउन नसक्ने मन्त्री ज्ञवालीले उल्लेख गरे । ५ वर्षभित्रै नेपालमा रेल र पानी जहाज चल्ने, तीन वर्षभित्र विकाशशील राष्ट्रमा पुग्ने, १० वर्षभित्र विदेशमा रोजगारीका लागि जानुपर्ने बाध्यता अन्त्य गरिने दावीसमेत उनले गरे ।
फरक प्रसंगमा उनले विगतको माओवादी युद्धकालमा शिक्षामा लगाउनुपर्ने लगानी गोला बारुदमा खर्च गर्नुपरेकाले नेपालको शिक्षा पछाडि परेको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारी शिक्षक शिक्षिकाले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्नेमा जोड दिए । आफ्ना छोरा छोरीलाई बोर्डिङमा पढाउने अनि आफूले सरकारी विद्यालयमा जागिर खाने कुराले सरकारी विद्यालयको गुणस्तर माथि उठ्न नसकेको उनले बताए । अबको शिक्षा रोजगारमूलक र सीपमूलक हुनुपर्नेमा उनको जोड थियो ।
उनले सो विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरिदिने बाचासमेत गरे । मन्त्री ज्ञवाली आइतबार राति नै अमेरिका प्रस्थान गर्दैछन् ।
उनी पुस ८ गते स्वदेश फर्किंदैछन् ।









प्रतिक्रिया दिनुहोस्