नयाँवर्षसँगै अहिले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि भएका छन् भने कुनैपनि होटल खाली बस्नुपर्ने अवस्था हटेको छ ।
अंग्रेजी नयाँवर्ष २०१८ लाई पर्यटकीयस्थलमा भव्य स्वागत गरिएको छ । पोखरामा आतिसबाजीसहित पुरानो वर्ष २०१७ लाई बिदाइ र नयाँवर्ष २०१८ लाई स्वागत गरिएको हो ।
फेवाताको किनारमा १९औं संस्करणको पोखरा सडक महोत्सवको अवसरमा ‘न्यू इयर इभ’ मनाउन देशका प्रमुख सहरदेखि आन्तरिक पर्यटक तथा बाह्य पर्यटकहरुको ठूलो भीड लागेको थियो ।
महोत्सवले आन्तरिक पर्यटकलाई आकर्षण गर्नसके पनि विदेशी पर्यटकको आकर्षण भने अझै बढाउन नसकेको बताउँछन्, व्यवसायी गोपी भट्टराई ।
पोखरा घुम्न आएका नेदरल्यान्ड्सका नागरिक मार्टिन क्रिजम्यानले नयाँवर्ष नेपालमा मनाउन पाउँदा खुसी लागेको बताए ।
नयाँवर्षको अवसरमा कोमागानेपार्कमा चर्चित कलाकारहरुको लोकदोहोरी, पप कन्सर्ट र हास्यप्रस्तुतिले दर्शकहरुको मन जितेको थियो ।
नयाँवर्षको सुरुआतसँगै पोखराका होटल व्यवसायीसमेत उत्साहित बनेका छन् । लामो समयदेखि पर्यटन क्षेत्रमा सुनसानजस्तै देखिने, प्रायः खाली बस्नुपर्ने अवस्थाको अहिले अन्त्य भएको होटल व्यवसायी हरि भुजेल बताउँछन् ।
महोत्सव अवधिभर करिब ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ भने ५ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्