अलैंचीको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढी उत्पादन हुने नगदेबाली चिराइतोको पनि मूल्य घटेपछि कृषकको आय–आर्जनमा नै कमी आएको छ ।
अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमासमेत कमी आएको ताप्लेजुङका चिराइतो व्यवसायी कैलाश बानियाँले बताए ।
दुई वर्षअघि प्रतिमन ३२ हजार रुपैयाँसम्म खरिद–बिक्री भएको चिराइतो अघिल्लो वर्ष मुस्किलले प्रतिमन ८ हजार ५०० रुपैयाँमा बिक्री भएको थियो ।
यो वर्ष पनि मूल्यमा भारी गिरावट भएपछि जिल्लामा चिराइतोको कारोबार नै ठप्प भएको बानियाँको भनाइ छ ।
यो वर्ष प्रतिमन पाँच हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसको मुख्य बजार चीन र भारतमा व्यापार रोकिएपछि बंगलादेश निर्यातमा पहल नहुँदा कारोबार रोकिएको व्यापारीहरुको भनाइ रहेको छ ।
एक वर्षअघिसम्म अरु बजारमाभन्दा चीनको तिब्बतमा यसको मूल्य उच्च हुँदा पूर्वका सबै चिराइतो ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै चीन निकासी भएको थियो । सो समयमा तिब्बतमा प्रतिमन ५० हजार रुपैयाँसम्ममा कारोबार भएको व्यापारीहरु बताउँछन् ।
चिराइतो भारत र चीनलगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधीय प्रयोगका लागि जाने गरेको छ ।
महत्वपूर्ण जडिबुटी मानिएपनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा परेका छन् ।
चिराइतो बिक्री नहुँदा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमलगायतका कृषक आफ्ना उत्पादन घरमै थन्काएर राख्न बाध्य भएका छन् ।









प्रतिक्रिया दिनुहोस्