
११ हजार ६ सय २९ घर निर्माण हुनुपर्नेमा हालसम्म १ हजार ७ सय ९३ वटा मात्र नीजि घर निर्माण भएको शहरी तथा भवन डिभिजन कार्यालय रसुवाको तथ्यांकमा उल्लेख छ ।
रसुवामा ११ हजार ६ सय २९ जना लाभग्राही भए पनि हाल करिब ३० प्रतिशतले घर निर्माण कार्य सुरु गरेको शहरी तथा भवन डिभिजन कार्यालय रसुवाका प्रमुख धिर फडेराले जानकारी दिए ।
नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई जिल्लामा भूकम्पपछिको पुनर्निर्माणको बारेमा जानकारी दिन गरिएको कार्यक्रममा फडेराले नीजि घर पुनर्निर्माणको काम सुस्त गतिमा भइरहेको बताए ।
आवास निर्माणका लागि समाग्री तथा कामदारको अभावका साथै अनुदान प्राप्तिमा भएको ढिलाईका कारण घर निर्माण गर्न ढिलाई भएको उनको भनाइ थियो ।
नीजि आवास निर्माणका लागि कुल लाभग्राही मध्ये १० हजार ८६ जनाले पहिलो किस्ता बापतको रकम लिएका छन् ।
त्यस्तै २ हजार ९ सय ५२ जनाले दोस्रो किस्ता पाएका छन् भने १ हजार ७ सय ९३ जनाले तेस्रो किस्ता बापतको रकम पाएका छन् ।
२०७५ असार मसान्तसम्ममा सबै नीजि आवास निर्माण गरिसक्नुपर्ने भए पनि रसुवामा पुनर्निर्माणको गति निकै सुस्त देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्