काठमाडौं, मंसिर २९ । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक अहिले सुरु भएको छ ।
सिंहदरबारअगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा जल सेचन तथा दीप प्रज्ज्वलन गरेर बैठकको शुभारम्भ गरेका हुन् ।
संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
उद्घाटन मञ्चको अग्रभागमा अग्रज स्व. नेताहरु बीपी कोइराला, सुवर्णशमशेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका तस्वीर राखिएका छन् ।
‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारा रहेको महासमिति बैठक आगामी पुस ३ गतेसम्म चल्नेछ ।
मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई आदर्शकारुपमा अघि सार्दै आएको छ ।
कांग्रेसको यो महासमिति बैठकलाई अन्य राजनीतिक दलले पनि निकै चासोका साथ हेरिरहेका छन् ।
बैठकमा सबै निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक सहभागी छन् ।
मञ्चको अग्रभागमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, कुलबहादुर गुरुङ, नरहरि आचार्य, सुजाता कोइरालालगायतका नेता रहेका छन् ।
बैठकको प्रवेशद्वारअगाडि नेपाली कांग्रेसको स्थापनाकालदेखि हालसम्मका महत्वपूर्ण घटनाक्रमसँग सम्बन्धित नेताहरुको तस्वीर अवलोकनका लागि राखिएका छन् ।
बैठक उद्घाटनस्थल वरपर कांग्रेसका झन्डा र आदर्श नारा लेखिएका फ्लेक्स टाँगिएका छन् ।
उद्घाटनलगत्तै सुरु हुने बन्दसत्रमा विभिन्न पाँच विषयका दस्तावेज पेस हुनेछन् ।
बैठकमा उपसभापति निधिले राजनीतिक, महामन्त्री डा. कोइरालाले सांगठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा. प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेस गर्नेछन् ।
विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ ।
पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र चल्नेछ ।
बैठकस्थलबाट नेपाल टेलिभिजनलगायतका सन्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिएका छन् ।
२०७२ सालमा सम्पन्न पार्टीको १३औं महाधिवेशनपछि भएको यो पहिलो महासमिति बैठक हो ।
पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने कांग्रेसजनको अपेक्षा छ ।
बैठकस्थल वरपर कांग्रेसका शुभेच्छुक र कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति रहेको छ । रासस









प्रतिक्रिया दिनुहोस्