काठमाडौं, मंसिर २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांगठनिक एकीकरणलाई तत्काल टुंगोमा पुर्याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा आवश्यक निर्णय गरेको हो ।
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार एकता प्रक्रियामा बाँकी रहेका काम–कारबाहीलाई तत्काल पूर्णता दिने, सरकारको काम–कारबाहीको समीक्षा गर्ने, सकारात्मक काम–कारबाहीलाई थप अगाडि बढाउने र कमजोरी हटाएर जानेलगायतका विषय स्थायी समिति बैठकमा पेस गर्नेगरी कार्यसूची तय भएको हो ।
स्थायी समितिको बैठक सुरु
स्थायी समितिको बैठक शनिबार दिउँसोदेखि पार्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा सुरु भएको छ ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
बहुप्रतिक्षित स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम–कारबाहीलाई टुंगोमा पुर्याउने विश्वास लिइएको छ ।
गत जेठमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकता भइ नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भएपनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउनसकेको छैन ।
यस्तै, जनवर्गीय एवं पेसागत संगठनकोसमेत एकता प्रक्रिया बाँकी रहेको छ ।
एकता प्रक्रिया र सरकारको काम–कारबाहीको विषयमा स्थायी समितिको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । यस्तै, पोलिटब्यूरोको चयनसमेत हुनसकेको छैन ।
सचिवालयको बैठक निरन्तर बस्दै आएको भएपनि स्थायी समितिको बैठक भने लामो समयदेखि बस्न सकेको थिएन ।
असन्तुष्टसँग दाहालको छलफल
यस्तै, केही दिनपहिले सचिवालयको बैठक समयमा सुरु नभएको भन्दै बैठक बहिस्कार गरेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पार्टी अध्यक्ष दाहालले शनिबार बिहान छलफल गरेका थिए ।
नेता गौतमको निवास भैंसेपाटीमा छलफल भएको बताइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्