
-डिबी विष्ट/ईमेज
बझाङ । बझाङको तल्कोट गाउँपालिकास्थित विश्वनाथ आधारभूत विद्यालयको भवन वर्षायाममा गएको पहिरोले बगाएसँगै विद्यार्थीको पढाइ अलपत्र बनेको छ ।
विद्यालय भवन पुननिर्माणमा सम्बन्धित निकायको चासो नहुँदा बालबालिका खुला आकाशमुनी पढ्न बाध्य भएका छन्् ।
गत भदौ १ गतेको अविरल वर्षाका कारण बझाङको तल्कोट गाउँपलिकास्थित विश्वनाथ आधारभूत विद्यालयका संरचनाहरु तहसनहस पारेपछि विद्यार्थीहरुको बिचल्ली भएको छ ।
कक्षा ४ सम्म पढाइ हुने विद्यालयमा अहिले विद्यार्थीहरु पहिरोमाथि नै बसेर पढिरहेका छन् त्यो पनि सबै कक्षाका विद्यार्थी एकै ठाउँमा ।
विद्यालयमाथि रहेका सडकका कारण पहिरोले विद्यालय बगाएको थियो ।
भवन निर्माणको क्रम चलिरहँदा पहिरोले भवन भत्काएपछि विद्यार्थीको पढाइ प्रभावित भइरहेको छ ।
सहयोगको अपील गर्दा सम्बन्धित निकायले खासै चासो नदिएको शिक्षक शिवराज रोकायाको गुनासो छ ।
यस विद्यालयमा ८३ बालबालिक अध्ययनरत छन् । चर्को घाम लाग्दा हावाहुरी आउँदा तथा पानी पर्दा समेत विद्यार्थीको पढाइ प्रभावित हुने गरेको छ ।
कक्षाकोठा नभएका कारण पाठ्यक्रमले तोकेको उद्देश्य अलपत्र बनेको छ ।
पटक पटक स्थानीय सरकारसँग आग्रह गर्दासमेत समस्या सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशी बताउँछन् ।
यता तल्कोट गाउँपालिका ३ का वडाध्यक्ष भरत बहादुर बोहरा भने विद्यालयको संरचना निर्माण आफूले निकै नै पहल गरिहेको दाबी गर्छन् ।
विद्यालयजस्तो संवेदनशील अनि विद्यार्थीको भविष्यसँग जोडिएको थलो पहिरोले बगाएको ५ महिना भइसकेको छ ।
तर पनि विद्यार्थीहरु पहिरोको जोखिम मोलेर खुल्ला आकाशमुनी पढ्न बाध्य छन् ।
हरेक गाउँगाउँ टोलटोलमा स्थानीय सरकार गठन भएका छन् । यसबीच पनि यस्ता सामान्य समस्या पनि ज्यूँकात्यूँ हुँदा धेरैलाई सरकार नभएको आभाष गराइदिएको छ ।
प्रतिक्रिया दिनुहोस्