शीतलहर र चिसोका कारण तराईमा ९ जनाको मृत्यु, आगो ताप्ने व्यवस्था मिलाउन माग • Image Khabar Image Khabar


शीतलहर र चिसोका कारण तराईमा ९ जनाको मृत्यु, आगो ताप्ने व्यवस्था मिलाउन माग


Imagekhabar
२२ पुष २०७४, शनिबार १३:००

शीतलहर र चिसोका कारण तराईमा ९ जनाको मृत्यु, आगो ताप्ने व्यवस्था मिलाउन माग

सप्तरीमा ६ र सिरहामा तीन जनाको मृत्यु भएको हो । चिसोका कारण सिरहामा तीन जनाको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको आज मृत्यु भएको हो ।

त्यसैगरी धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको पनि चिसोका कारण गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीमा चिसोका कारण ६ जनाको मृत्यु भएको छ । महदेवा गाउँपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको हिजो चिसोले मृत्यु भएपछि सप्तरीमा मृतकको संख्या ६ पुगेको हो ।

नहरको किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङग्रीएर अचानक ढलेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

यसअघि बिहीबार राति राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्र्षीय कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगमको चिसोका कारण मृत्यु भएको वडा नं. २ का अध्यक्ष अरुण यादबले जानकारी दिए ।

यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो ।

अत्याधिक चिसोका कारण बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाहरुको भीड लागेको छ ।

शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ ।

विद्यालय आउने विद्यार्थीको संख्या घट्दै गएपछि जिल्ला शिक्षा कार्यालयले सप्तरीका सवै ४१२ वटा सामुदायिक विद्यालय बन्द गराएको छ ।

चिसो बढ्दै गएकाले निजी विद्यालयहरु पनि अब बन्द गर्ने तयारी भइरहेको प्याब्सनका जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए ।

यता एक सातादेखि बढ्दै गएको वाक्लो हुस्सु र शितलहरको कारण महोत्तरीको जनजीवन पनि प्रभावित बनेको छ ।

बढ्दै गएको शितलहरका कारणले जिल्ला शिक्षा कार्यालयले स्थानीय तहसँग समन्वय गरी सामुदायिक विद्यालयमा एक हप्ता विदा दिने निर्णय गरेको छ । कार्यालयले निजी विद्यालयमा पनि बिदा दिन आह्वान गरेको छ ।

स्थानीय तहहरुले चिसो र शितलहरबाट राहतका लागि ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गर्न दाउराको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले दलित वस्तीमा न्यानो कपडा समेत वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्