१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


चिसोको चपेटामा चितवन, शनिबारका सबै हवाई उडान रद्द


0
Shares

केही दिनयता चिसो बढ्नुका साथै बाक्लो हुस्सुले आकाश छोप्नेक्रम नरोकिएपछि शनिबार चितवनमा घाम लाग्न सकेन ।

चिसोसँगै बहने सिरोटोले यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार बढी प्रभावित भएका छन् ।

अत्याधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्कँदैनन् । कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ ।

चिसो अध्याधिक बढेपछि सर्वसाधारण टोलको चोकचोकमा दाउरा बालेर दिनभरि आगो ताप्न थालेका छन् ।

शनिबार (आज) चितवनको न्यूनतम् तापक्रम ७ डिग्री सेल्सियसमा झरेको छ । यहाँ यो तापक्रम यो वर्षकै कम हो ।

यसैबीच, भरतपुरबाट हुने शनिबारका सबै हवाई उडान रद्द भए । बाक्लो हुस्सुका कारण कुनैपनि उडान हुन नसकेको नागरिक उडड्यान प्राधिकरण भरतपुरले जनाएको छ ।

चितवनबाट शनिबार काठमाडौं र पोखरा लागि १४ ओटा उडान तालिका तय गरिएको थियो । जसमध्ये बुद्ध एअरको ९, यति एअरको ४ र सिम्रिक एअरलाइन्सको एक उडानको तालिका रहेको थियो ।

यो वर्ष पहिलोपटक सबै उडान रद्द गरिएको नागरिक उडड्यन प्राधिकरण भरतपुरका वरिष्ठ एटिसी अफिसर दीपक विकेले जानकारी दिए ।