Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


अमेरिकी राष्ट्रपति भन्छन् ‘उत्तर कोरियाली नेतासँग कुरागर्न चाहन्छु’


0
Shares

डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने, ‘म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन ।’

सम्वाददाताहरुले उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै भएपनि कुराकानी गर्नुभएको त छैन भनी गरिएको प्रश्नको जवाफमा उनले सो धारणा राखेका हुन् ।

उनले भने, ‘म सधैँ वार्तामा विश्वास गर्ने मान्छे हुँ र उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने कुरामा म इच्छुक छु भनेर बुझ्दा हुन्छ ।’

राष्ट्रपति ट्रम्पले दुई कोरियाबीच हुन गइरहेको वार्ताको पनि स्वागत गरे । उनले भने, ‘म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास गर्छु र अमेरिकाको धारणा पनि यही हो ।’

दुई कोरियाको बीचमा हुन गइरहेको वार्ताको स्वागत गर्दै उनले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस भन्ने आफ्नो धारणा रहेको प्रष्ट पारे ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । दक्षिण कोरियाली अधिकारीहरुले वार्ताको तयारी भइरहेको जानकारी दिएका छन् ।

पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । उक्त उच्चस्तरीय वार्ताको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेका छन् । (रासस/एएफपी)