
काठमाडौं, असार १४ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले केही सामान्य वस्तुमामात्र कर बढाएकाले मूल्यवृद्धिमा चाप नपर्ने दाबी गरेका छन् ।
मन्त्रालयगत विनियोजित बजेटको शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको बिहीबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले कर बढाएर सरकारले मूल्यवृद्धि गराएको आरोप आधारहीन रहेको बताए ।
सांसदहरुले सरकारले उच्च मूल्यवृद्धि हुनेगरी करको दर बढाएको भन्दै तीव्र आलोचना गरेपछि अर्थमन्त्री खतिवडाले मूल्यवृद्धिमा चाप पर्नेगरी करको दर नबढाएको दाबी गरेका हुन् ।
‘मूल्यवृद्धिमा चाप पार्ने भनेको मूल्य अभिवृद्धि करले हो । तर, मूल्य अभिवृद्धि करलाई चलाएको छैन’–उनले भने ।
उनले मूल्यवृद्धि बढी हुन्छ भनेर आत्तिन नपर्ने पनि जिकिर गरे । कम उपयोग गरेर हुनसक्ने वस्तुको करको दायरा बढाएको उनको भनाइ थियो ।
अर्थमन्त्री खतिवडाले राजश्व संकलन गर्ने कर्मचारीलाई थप प्रोत्साहन भत्ताको व्यवस्था नगरिएको पनि स्पस्ट पारे ।
यस्तै, उनले समयमै पूरा हुने कुनैपनि विकास आयोजनामा बजेट अभाव नहुने बताए ।
स्थानीय, प्रदेश वा संघीय तह जुन सरकारले अघि बढाएको भएपनि समयमै पूरा हुने आयोजनामा रकम अभाव हुन नदिने प्रतिबद्धता उनले व्यक्त गरे ।
असीमित आयोजना तर सीमित स्रोतकोबीचमा मुलुक रहेको भन्दै उनले हरेक वर्ष धेरै आयोजना थप्ने तर स्रोत परिचालन गर्न नसक्ने अवस्था रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्