
आइतबारमात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नम्बर–९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि, शनिबार गडीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ स्थित चिम्नीभट्टामा काम गर्न आएका सर्लाहीका नेकमहम्मद अलीको मृत्यु भएको थियो ।
मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदुर हुन् । विगत एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्याधिक मात्रामा बढेको हो ।
जिल्लामा शीतलहर बढेपछि जिल्ला वन कार्यालयले अहिलेसम्म ९ स्थानमा दाउरा वितरण गरेको जनाएको छ ।
शीतलहरले जनजीवन प्रभावित भएपछि आपूर्ति समितिबाट सुलभ मूल्यमा दाउरा उपलब्ध गराइएको वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए ।
सामुदायिक विद्यालय थप चार दिन बन्द
यसैबीच, शीतलहर बढेपछि जिल्ला शिक्षा कार्यालयले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शीतलहर कारण विद्यार्थीलाई विद्यालय आउन कठिन भएपछि आइतबारदेखि पुनः चार दिन बिदा थप गरेको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जानकारी दिए ।
यसअघि, गत पुस १७ गते सोमबारदेखि २१ गते शुक्रबारसम्म सबै सामुदायिक विद्यालय बन्द निर्णय भएको थियो । रौतहटमा ४२ निजी विद्यालय र ३५१ सामुदायिक विद्यालय सन्चालित छन् ।
यस्तै, निजी विद्यालयमा परीक्षा सन्चालन भइरहेकाले बिदा नदिएको र केही निजी विद्यालयले भने थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
विद्यार्थी विद्यालय आउने अवस्था नभएपछि थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरका प्राचार्य श्यामकिशोर चौधरीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्