राष्ट्रपतिद्वारा शीतलहरबाट उत्पन्न परिस्थिति समाधान गर्न आग्रह • Image Khabar Image Khabar


राष्ट्रपतिद्वारा शीतलहरबाट उत्पन्न परिस्थिति समाधान गर्न आग्रह


Imagekhabar
२४ पुष २०७४, सोमबार १८:५४

राष्ट्रपतिद्वारा शीतलहरबाट उत्पन्न परिस्थिति समाधान गर्न आग्रह

तराई क्षेत्रलगायत देशभर बढेको चिसोले जनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रपति भण्डारीले विगत वर्षमा पनि यस किसिमका प्राकृतिक घटनाक्रम हुने गरेकाले अब उचित र दिगो व्यवस्थापनका लागि पूर्वतयारी अपनाउन सरकारलाई आग्रह गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘शीतलहर एवम् महामारीका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, असहाय, गरीब र निमुखालाई बढी प्रभावित पारेको कुराले सिंगो देशलाई दुःखित र स्तब्ध तुल्याएको जनाउँदै विज्ञप्तिमा गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र र सर्वसाधारणलाई सरकारसँग हातेमालो गरी पीडितको उद्धार एवम् राहतको उचित प्रबन्ध मिलाउन आह्वान गरिएको छ ।

केही दिनदेखि तराई क्षेत्रमा लागेको बाक्लो हुस्सु र शीतलहर एवम् पश्चिम पहाडका केही क्षेत्रमा फैलिएको झाडापखाला र ज्वरोका कारणबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपतिले दुःख व्यक्त गर्दै शीतलहर एवम् महामारीका कारणबाट अकालमा ज्यान गुमाएकाहरुका शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा उपचारका क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

 

प्रतिक्रिया दिनुहोस्