काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसभित्र निकै चासोको विषय बनेको महासमितिको बैठकको चहलपहल सुरु भएको छ । महासमिति बैठकमा सहभागी हुन देशभरबाट कांग्रेसका नेता तथा कार्यकर्ता काठमाडौं आएका छन् ।
महासमिति सदस्यहरुको स्वागत र नाम दर्ताको कार्यक्रम आज पार्टी कार्यालय सानेपामा राखिएको छ । महासमिति बैठकको उद्घाटन भने पार्टी सभापति शेरबहादुर देउवाले भोलि गर्नेछन् ।
पुस ३ गतेसम्म चल्ने महासमिति बैठकको मुख्य एजेण्डा पार्टीको विधान संशोधन भएकाले यसलाई चासोका साथ हेरिएको छ । बैठकको उद्घाटनसत्र सकिएलगत्तै बन्द सत्र सुरु हुने र विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज, उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज, सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसको आर्थिक नीति र कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
महासमिति सदस्यहरुलाई समूहमा विभाजन गर्ने र सबै प्रतिवेदनमाथि समूहगत छलफल गराएर निष्कर्ष पेश गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय समितिले सर्वसम्मतिले ल्याएको कुनै प्रस्तावलाई समेत अस्वीकार गर्ने अधिकार महासमितिलाई छ ।
महासमिति बैठकमा १ हजार ६ सय ६० जना सहभागी हुने कांग्रेसले जनाएको छ । महासमितिमा भएका छलफलबारे दैनिक पत्रकार सम्मेलन गरेर जानकारी दिने व्यवस्था मिलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्