
काठमाडौं । नेपाली कांग्रेसको महासमिति वैठकको सम्पूर्ण तयारी पुरा भएको छ । महासमितिमा देश विदेशबाट करिब १ हजार ६ सय सदस्य काठमाडौंमा आईसकेका छन् ।
मंसिर २८ गतेदेखि वैठक शुरु हुने भनिए पनि औपचारिक उद्घाटन भने मंसिर २९ गते मात्रै हुने छ ।
मंसिर २८ गतेदेखि नै महासमिति बैठक प्रारम्भ हुने छ । जस अन्तर्गत बैठकका सहभागीहरुले २८ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नाम दर्ता गराउनु पर्नेछ भने मंसिर २९ गते शनिबार बिहान ११ बजे महासमिति वैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
रामशाहपथ स्थित एक पार्टी प्यालेसमा हुने महासमिति वैठकको प्राविधिक तयारी उत्पत्यकाका तीन जिल्लाको समन्वयमा भईरहेको छ ।
महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकायको रुपमा रहेको महासमिति बैठकमा विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संघ संस्था र महासमितिमा निर्वाचित नभएका जिल्ला सभापति र संघिय संसदका सांसदहरुलाई समेत निम्त्याइएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महासमितिको सम्पुर्ण प्राविधिक तयारी पुरा भएको बताएका छन् ।
उपत्यका तीनै जिल्लाका कतिपय स्थानका सडकमा कांग्रेसका झण्डा फहराइएका छन् ।
करिब एक करोड खर्च गरेर महासमिति सक्ने तयारी गरेको कांग्रेसले राजनीतिक तयारी भने सन्तोषजनक ढंगबाट गर्न सकेको छैन ।
महासमितिमा पेश हुने पाँचवटा प्रस्तावहरु मध्ये एउटा प्रस्ताव मात्र केन्द्रीय समितिबाट पारित भएको छ ।
विधान, राजनीतिक, सांगठानिक र आर्थिक नीति सम्बन्धी प्रस्तावमा सहमति जुट्न सकेको छैन ।
प्रवक्ता शर्मा अब सबै प्रस्ताव माथि महासमितिमा नै छलफल हुने बताउँछन् ।
महासमिति बैठकको बन्द शत्र भने पुष १ बाट मात्र सुरु हुने छ ।
एकातिर प्रस्ताव प्रस्तुत हुनै ढिला हुने र अर्को तर्फ प्रस्ताव माथि नै शिर्ष तहमा सहमति नजुट्नुले महासमिति वैठक केही दिन लम्बिन सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्