२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


गाउँपालिकाको मोटरसाइकल ठेकेदारले कुदाएपछि…


0
Shares

सरकारी सवारी बिनापास बिदामासमेत निजी प्रयोजन र अरुलाई नै कुदाउन दिन थालेपछि नियन्त्रणमा लिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्र्यालय ताप्लेजुङका इन्चार्ज टंक न्यौपानेले जानकारी दिए ।

शनिबार (आज) बिनापास फक्ताङ्लुङ गाउँपालिकाका वडासचिव पवनकुमार देवले प्रयोग गर्ने मे१ब ३१३ नम्बरको सरकारी मोटरसाइकल अर्कै व्यक्तिले प्रयोग गरिरहेको अवस्थामा भेटिएको इन्चार्ज न्यौपानेले बताए ।

सो सरकारी मोटरसाइकल जिल्ला नापी कार्यालयको भवन निर्माण गरिरहेका ठेकेदार दिवस लाबुङले चलाइरहेको अवस्थामा फेलापारिएको उनले जानकारी दिए ।

सो मोटरसाइकलको दुरुपयोग भइरहेको सूचना यसअघि पनि बारम्बार ट्राफिक प्रहरीमा आएको र शनिबार पनि दुरुपयोग भएको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो मोटरसाइकल जिल्ला प्रहरीमा बुझाएको इन्चार्ज टंक न्यौपानेले जानकारी दिए ।

ताप्लेजुङमा सार्वजनिक बिदामासमेत केही सरकारी सवारी सिक्नमा प्रयोग हुने, विवाह, मलामी र पिकनिकमासमेत प्रयोग गर्ने गरेको सूचना आफूहरुकोमा आएकाले त्यस्ता सवारीको निगरानी ट्राफिक प्रहरीले गरिरहेको उनले बताए ।

सरकारी सवारी सरकारी कामकाजका लागि सरकारी कार्यालय खुलेको समयमामात्र प्रयोग गर्न पाइन्छ । बिदाको समयमा सरकारी कामकै लागि चलाउनुपरे जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताए ।