Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कांग्रेस महासमिति बैठकमा पेस गर्ने दस्तावेजहरुको टुंगो अझै लाग्न सकेन (भिडियो)


0
Shares

सरोज अधिकारी र योगेश लामा (इमेज)

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको महासमिति बैठकमा पेस गर्ने दस्तावेजहरुको टुंगो अझै लाग्न सकेको छैन ।

महासमितिमा पेस गरिने महत्वपूर्ण विधान संशोधनको मस्यौदा, राजनीतिक दस्तावेजलगायतका विषय पार्टीका शीर्ष नेताहरुबीच नै सहमति नबन्दा सीधै महासमिति बैठकमा पेस हुने सम्भावना बढेर गएको छ ।

तर, केन्द्रीय सदस्यहरुले भने केन्द्रीय समितिमा सहमति गरेरमात्र दस्तावेजहरु महासमितिमा लान माग गरिरहेका छन् ।

कांग्रेस महासमिति बैठक सुरु हुन अब केही घन्टामात्र बाँकी छ ।

महासमितिमा पेस हुने दस्तावेजहरुमा अहिले पनि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

पार्टी विधान कांग्रेस महासमितिको प्रमुख ‘बिजनेस’ हो । तर, विधानकै विषयमा अहिलेसम्म शीर्ष तहमा कुरा मिल्न सकेको छैन ।

पार्टीको राजनीतिक दस्तावेजमाथिको छलफल जारी नै छ भने समग्र आर्थिक नीति र सांगठनिक प्रस्तावमाथि पनि छलफल जारी छ ।

पार्टीभित्रको गुटगत राजनीतिको छायाँ विधान संशोधनमा प्रस्ट देखिएको छ । विधानमा मुख्य समस्याकारुपमा पदाधिकारी थप्ने या नथप्ने र कुन प्रणालीबाट पदाधिकारी चयन गर्ने विषय छ ।

अनौपचारिकरुपमा नेताहरुबीच यसमा सहमतिको प्रयास भने जारी छ । तर, कुरा मिल्ने अवस्था भने बनिसकेको छैन ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा महासमिति सुरु हुनुअघिसम्म नै केन्द्रीय समितिमा सबै विषयमाथि सहमतिको प्रयास हुने र त्यसो हुन नसके सबै असहमतिसहितका विषय महासमिति बैठकमा नै जाने बताउँछन् ।

राजनीतिक प्रस्तावमाथि बोल्ने कतिपय केन्द्रीय सदस्यले हिन्दुराष्ट्र कायम गर्नुपर्ने पनि मत राखेका छन् ।

केन्द्रीय सदस्यहरु भने सकभर असहमतिका विषयहरुलाई केन्द्रीय समितिमा नै सहमति गरी साझा प्रस्तावकारुपमा महासमितिमा लान भनिरहेका छन् ।

केन्द्रीय सदस्य बद्री पाण्डे केन्द्रीय समितिबाट नै सबै विषय टुंगिएर महासमितिमा जाने विश्वास व्यक्त गर्छन् ।

केन्द्रीय सदस्य किरण यादव असहमतिकै विधान तथा दस्तावेज केन्द्रीय समितिमा जाँदा त्यसले भद्रगोल हुने भन्दै सहमति गरेरमात्र जानुपर्ने बताउँछिन् ।

विधान समितिमा नै फरक मत राखेका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी भने सबै विषय मिलेमात्र साझा दस्तावेज बनाउनुपर्ने अन्यथा जे–जे फरक मत छन्, सबै महासमितिमा लैजानुपर्ने बताउँछन् ।

कांग्रेस महासमिति बैठक यही मंसिर २९ देखि आगामी पुस ३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

भिडियो हेर्नुहोस्