नर्सहरुको आन्दोलनले बिरामी मर्कामा • Image Khabar Image Khabar


नर्सहरुको आन्दोलनले बिरामी मर्कामा


Imagekhabar
२ माघ २०७४, मंगलवार १४:१९

नर्सहरुको आन्दोलनले बिरामी मर्कामा

सेती अञ्चल अस्पतालमा रहेका ५२ जना नर्स यतिबेला आन्दोलनमा छन् । मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सहरुलाई पुनर्बहाली सहितका ११ बुँदे माग गर्दै नर्सिङ सेवा ठप्प पारेपछि बिरामीहरु मर्कामा परेका छन् ।
नर्सिङ सेवा ठप्प हुँदा अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरु प्रभावित भएका छन् ।

संघकी जिल्ला अध्यक्ष यशोदा ढकालले हातमा कालो पट्टी बाँधेर सुरु गरेको आन्दोलन सरकारले माग पुरा नगरेपछि सेवा नै ठप्प गर्नु पर्ने अवस्थामा पुगेको बताइन् । उनले आजबाट ३ घन्टा सेवा ठप्प पारे पनि मागहरु सम्वोधन नभए २४ सै घन्टा नर्सिङ सेवा ठप्प पार्ने चेतावनी दिइन् ।

उनले मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सिङ्ग कर्मचारीहरुलाई विनाशर्त पुनर्वहाली गर्नुपर्ने लगायतका अन्य माग राखेर आन्दोलित भएको बताइन् ।

अध्यक्ष ढकालले आफूहरुको आन्दोलनले बिरामीहरुलाई थप सेवा पुग्ने भन्दै अहिले केही अप्ठ्यारो भएकोमा क्षमायाचना समेत गरिन् ।

अस्पताममा बिरामी लिएर आएका आफन्तहरु भने निकै मर्कामा परिरहेको बताइरहेका छन् । नर्सहरु आन्दोलित हुँदा समयमा स्वास्थ्य उचार नपाएको बिरामीका कुरुवाहरुले बताई रहेका छन् ।

सात नम्बर प्रदेशमा एउटा मात्रै आईसियू सेवा रहेको सेती अञ्चल अस्पतालको सो सेवा समेत प्रभावित भएको अस्पतालमा कार्यरत फिजिसियन डा. शेरबहादुर कमरले बताए । उनले नर्सहरु आन्दोलित हुँदा बिरामीले पाउनु पर्ने न्यून सेवाहरु समेत दिन नपाएको भन्दै राज्यले नर्सहरुको आधारभुत मागहरु पुरा गर्नतर्फ ध्यान दिनु पर्ने बताए ।

सेती अञ्चल अस्पतालले दिईरहेको अत्यावश्यक सेवाहरुमा रुटिङ्ग अपरेशन सेवा समेत नर्सहरुको आन्दोलनका कारण प्रभावित भएको छ । अस्पतालका मेसु डा. सजन केसीले नर्सहरु आन्दोलित हुँदा अस्पतालले दिंदै आएको अपरेशन सेवाहरु समेत प्रभावित भएको बताए । उनले गाईनो, हाडजोर्नी लगायत अन्य जनरल अपरेशन सेवाहरु समेत प्रभावित भएको बताए ।

यद्यपी विरामीलाई दिनु पर्ने अत्यावश्यक सेवाहरु भने अस्पतालले दिई रहेको मेसु केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्