
वीरगन्ज राजधानी संघर्ष समितिको आह्वानमा गरिएको एकदिने बन्दकाक्रममा आन्दोलनकारीले बिहीबार बिहानैदेखि वीरगन्जका विभिन्न चोकमा टायर बाली सार्वजनिक तथा निजी यातायात, बजार, उद्योग वित्तीय संस्था र विद्यालय बन्द गराएपछि जिल्लावासीको जनजीवन प्रभावित भएको हो ।
प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुर तोकिएको विरोधमा स्थानीयले बिहानैदेखि वीरगन्जको घन्टाघर, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गन्डक, नगवार, इनर्वालगायतका चोकमा टायर बाली प्रदर्शन गरिरहेका छन् ।
बन्दका कारण वीरगन्जबाट विभिन्न जिल्लातर्फ सन्चालन हुने लामो तथा छोटो दूरीका सर्वजनिक सवारी–साधन नचलेपछि यहाँको बसपार्कमा सयौं यात्री अलपत्र परेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै वीरगन्जको घन्टाघर चोकमा आन्दोलनकारीले करिब आधादर्जन सवारी–साधन तोडफोड गरेका छन् ।
आन्दोलनकारीले दुईओटा चारपांग्रे र चारओटा तीनपांग्रे इ–रिक्सामा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स, वारुणन्त्र, पर्यटक सवार वाहन, सन्चारमाध्यमका सवारी–साधन, मोटरसाइक, साइकलबाहेकका सबै सवारी–साधन सन्चालनमा आन्दोलनकारीले रोक लगाएका छन् । होटल र औषधि पसलमात्र सन्चालन गर्न दिएका छन् ।
बन्दकाक्रममा हुनसक्ने जनधनको क्षति रोक्न वीरगन्जका चोकचोकमा उल्लेख्य संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्