Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


निर्मला हत्या प्रकरणः मुख्यमन्त्रीको पुत्ला जलाइयो, गृहमन्त्रीको राजीनामा माग (६ तस्वीर)


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, मंसिर २५ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलबार मुख्यमन्त्रीको कार्यालयअगाडि प्रदर्शन गरिएको छ ।

सरकारले नै अपराधी संरक्षण गरेको आरोप लगाउँदै नेपाली कांग्रेस कैलालीले धनगढीस्थित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको हो ।

सरकारले हत्यारा जोगाउन खोजेको भन्दै प्रदर्शनकारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पुत्लादहनसमेत गरेका छन् ।

निर्मलाको हत्यारालाई सरकारले संरक्षण गरेका कारण हत्यारा सार्वजनिक गर्न समय लागिरहेको आरोप नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष भेष बमले लगाए ।

निर्मलाको बलात्कारपछि हत्या भएको चार महिनाभन्दा बढी समय बितेपनि सरकार हत्यारा सार्वजनिक गर्न असफल भएको उनको भनाइ छ ।

सरकारले अनुसन्धानका नाममा फेरिपनि सोझा–सीधा जनतालाई दुःख दिइरहेको आरोप पनि उनले लगाए ।

सरकार फेरि नक्कली आरोपी खडा गर्न लागिपरेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागेका छन् ।

नेपाल महिला संघ कैलालीकी नेत्री तुल्सी देवकोटाले सरकारले निर्मला हत्याकान्डलाई गम्भीररुपमा नलिएका कारण आन्दोलन गर्नुपरेको जिकिर गरिन् ।

उनले निर्मलाको हत्यारालाई सार्वजनिक गर्न नसके प्रदेशका मन्त्रीदेखि केन्द्र सरकारका मन्त्री सबैले राजीनामा दिनुपर्ने माग गरिन् ।