३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


मदिरा सेवन गर्नेहरुलाई कारबाही स्वरुप संकलित जरिवानाबाट विद्यालय निर्माण


0
Shares

दुर्गम सुर्मा गाउँपालिका–१ दौलिचौरका बासिन्दाले विद्यालयको पक्की भवन बनाएका हुन् ।

मदिराका कारण गाउँको बदनामी भएको भन्दै स्थानीयले मदिरा विरोधी अभियान सञ्चालन गरेर मदिरा सेवन गर्नेहरुलाई कारबाही गरी जरिवाना संकलन गर्दै आएका थिए ।

त्यसरी संकलन गरिएको जरिवाना रकम १८ लाख ४० हजार ५ सय रुपैयाँ पुगेपछि स्थानीयले विद्यालयको २ कोठे पक्की भवन, चौतारो र सरस्वती मन्दिर निर्माण गरेको दौलिचौर मदिरा नियन्त्रण समितिका अध्यक्ष गोरखबहादुर बोहराले जानकारी दिए ।

जरिवानाबाट उठेको रकम र श्रमदान गरी झन्डै १४ लाखमा दौलिचौर माध्यमिक विद्यालयको पक्की भवन, ५० हजारमा विद्यालयको चौतारो, १ लाख ५० हजार रुपैयाँको लागतमा विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण गरिएको हो ।

यस्तै जरिवानाबाटै उठेको रकमले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा १५ हजार रुपैयाँ बरावरको सोलार सेट पनि जडान गरेको दौलिचौर मदिरा नियन्त्रण समितिका अध्यक्ष बोहराले बताए ।

मदिरा सेवनका कारण दौलीचौरमा ४ वर्ष अघि दुई जनाको हत्या भएको थियो । स्थानीयले मदिरा विरोधी अभियान सञ्चालन गरेसँगै गाउँमा हुने झैझगडामा समेत कमी आउन थालेको छ ।