काठमाडौं, मंसिर २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा प्रस्तुत् हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
पार्टीको समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट सहमहामन्त्री एवं समितिका संयोजक डा. प्रकाशशरण महतले यही १९ गतेको बैठकमा प्रस्तुत् गरेको प्रस्ताव सोमबार छलफलपछि पारित भएको हो ।
उनले केही सुझावसहितको नीति बैठकको सर्वसम्मतिले पारित गरेको बताउँदै उच्च उत्पादकत्वमा आधारित दीगो र फराकिलो आर्थिक वृद्धिलाई आर्थिक नीतिमा केन्द्रित गरिएको जानकारी दिए ।
कांग्रेसले आर्थिक वृद्धिसहितको समानता हासिल गर्ने लक्ष्यलाई यथावत् स्वीकार्दै ती लक्ष्य प्राप्त गर्ने तरिकामा समयसापेक्ष गतिशीलता अपनाउने नीति लिएको छ ।
बैठकबाट पारित आर्थिक नीति आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुने पार्टीको महासमिति बैठकमा पेस गरिनेछ ।
उनले भने–‘समतामूलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवाकेन्द्रित उद्यमशीलता, सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासनलाई प्राथमिकतामा राखेका छौं ।’
उच्च उत्पादकत्वमा आधारित दीगो र फराकिलो आर्थिक वृद्धिका लागि व्यापक स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र आयात प्रतिस्थापन गर्ने उद्योग–व्यवसाय संरक्षण नीति अख्तियार गरिने उक्त नीतिमा उल्लेख छ ।
कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको हो । महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव मस्यौदा समिति र महामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा सांगठनिक समिति गठन गरिएको थियो ।
यस्तै, अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा. महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो ।
विधान मस्यौदाका सम्बन्धमा मंसिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भएपनि सो प्रतिवेदन पारित हुन सकेको छैन ।
खासगरी पदाधिकारी संख्या बढाउने/नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ ।
आर्थिक नीति पाारितसँगै उपसभापति निधिले पार्टीको राजनीतिक प्रस्ताव मस्यौदा प्रस्तुत् गर्ने पार्टी कार्यालयले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्