काठमाडौं, मंसिर २४ । संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानुनी र आर्थिकलगायत विषयका विवाद समाधान गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न अन्तरप्रदेश परिषदको पहिलो बैठकले सो कार्यदल गठन गरेको र कार्यदलले आउँदो पुस ३ गते प्रतिवेदन बुझाउने सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
कार्यदलमा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् ।
कार्यदलको सदस्यसचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी रहेका छन् ।
संविधान, कानुन, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्ने निकाय मानिएको परिषदको बैठक आइतबारदेखि सुरु भएकोे थियो ।
नेपालको संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषदको व्यवस्था छ । रासस









प्रतिक्रिया दिनुहोस्